काठमाडौं । तीन प्रदेशमा आज (शुक्रबार) वर्षा र हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् । वागमती, गण्डकी र प्रदेश-१ का पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो प्रदेश-१, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति प्रदेश-१, वागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१ को पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश-१ का उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।