काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले अहिले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम सामान्य बदली तथा प्रदेश-१ र २ मा आंशिकदेखि सामान्यसम्म बदली रहेको जनाएको छ । अनि तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ ।
महाशाखाले आज (शनिबार) बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो (बिहान १०/११ बजेदेखि साँझ ६ बजेसम्मको अवधि) सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । अनि उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना छ ।

बुलेटिनअनुसार आज राति पनि सुदूरपश्चिम प्रदेशका केही तथा कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । अनि उच्च पहाडी तथा हिमाली क्षेत्रका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना छ ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ । जसमा भनिएको छ : सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।