मिर्गौला झिकेको आरोपमा ५ जना पक्राउ

by समतल अनलाइन
Shares

काठमाडौं । एउटा व्यक्तिको स्वास्थ्य परीक्षण र प्रमाणित गरी अर्कै व्यक्तिको मिर्गौला झिकेर बिरामीलाई प्रत्यारोपण गरेको आरोपमा निदान अस्पताल ललितपुरस्थित पुल्चोकका ४ कर्मचारीसहित पाँच जना पक्राउ परेका छन्।

निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृतसहित ५ जनालाई पक्राउ गरेको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एसपी गोविन्द थपलियाले बताउनुभयो। उहाँले पीडितको किटानी जाहेरीका आधारमा अनुसन्धानका लागि पक्राउ गरेको जानकारी दिनुभयो।

स्वास्थ्य परीक्षण गरिएका बिरामीका भान्जाको मिर्गौला ननिकाली अर्कैको मिर्गाैला झिकी प्रत्यारोपण गराएको आरोपमा अस्पतालका सीईओ विपेन्द्र प्रधान, अस्पतालका डाक्टर राजेश पन्त, कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, रामेछापको दोरम्बा घर भई हाल उपचारका लागि काठमाडौंको स्वयम्भूमा बसोबास गर्दै आएका शंकरलाल लामा र जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत रामचन्द्र आलेलाई पक्राउ गरेको छ। केही समयअघि मिर्गाैला प्रत्यारोपणको विषय विवादमा आएपछि अनुसन्धानका लागि सम्बन्धित पक्षहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

मिर्गौला प्रत्यारोपण गराएबापत निदान अस्पतालले बिरामी पक्षसँग ११ लाख रुपियाँ लिएको र मिर्गौला दिने व्यक्तिलाई ३ लाख दिएको आरोप लागेको छ। गरिब परिवारको ३६ वर्षे युवालाई आर्थिक प्रलोभनमा पारी दलालले फोटोसमेत स्वास्थ्य परीक्षण गरिएका बिरामीका भान्जाको फोटोसँग मेलखाने बनाएर कागजपत्र दुरुस्त बनाएको समेत अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रलोभनमा परी मिर्गौला दिने व्यक्तिलाई मिर्गौला निकालिसकेपछि केही दिन शंकरलालकै घरमा राखिएको र पछिल्लो समय विषय विवादमा आएपछि उनलाई भक्तपुरको एउटा घरमा बन्धक बनाएर राखेको अवस्थामा प्रहरीले उद्धार गरेको जनाएको छ।

प्रहरीले बन्धक बनाइएका व्यक्तिले दिएको उजुरीका आधारमा ५ जना पक्राउ गरेको र उनीहरूविरुद्ध मानव बेचबिखन तथा ओसारपसार ऐनअन्तर्गत अनुसन्धान शुरू गरेको जनाएको छ। मिर्गौला तस्करीका दलालसहित केही व्यक्ति भने अझै फरार रहेको प्रहरीले दाबी गरेको छ।

 

You may also like

This will close in 0 seconds