काठमाडौं । देशभर ह्वातै जाडो बढेको छ । यो क्रम अझै बढ्ने मौसमविदले बताएका छन् । काठमाडौंको आज (बुधबार) बिहानको तापक्रम ३.४ डिग्री सेल्सियस रहेको छ । बिहान ६ बजे काठमाडौंमा ३.४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको हो ।
दिउँसो काठमाडौंको तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद् राजु प्रधानाङ्ले जानकारी दिए । आज पूर्वी नेपालको हिमाली तथा उच्च पहाडी भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

तराईका केही क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ । मध्याह्नसम्म उक्त हुस्सु र कुहिरो हट्ने मौसमविद् प्रधानाङ् बताउँछन् । एक पटक पानी परेपछि तराईमा शितलहर शुरु हुने सम्भावना रहेको छ । ‘पानी परेपछि तराई क्षेत्रमा शितलहरको सम्भावना हुन्छ । तर, अहिलेसम्म पानी नपरेकाले शितलहर शुरु भइसकेको छैन’, उनले भने, ‘शितलहर शुरु भए थप चिसो महसुस हुन्छ ।’
चिसो बढ्ने क्रममा रहेको छ । ‘अहिले हामी मध्य जाडोमा छौं । अझै तापक्रम घट्ने र चिसो हुने सम्भावना छ । त्यसैले चिसोबाट बच्न सतर्क रहनु पर्छ’, उनले भने । आज बिहान काठमाडौंको भिजिविलिटी ५ किलोमिटर रहेको छ ।