अरब सागरको मौसमी प्रणालीले बढ्यो चिसो, मौसमविदको यस्तो चेतावनी

by समतल अनलाइन
Shares

काठमाडौं । अरब सागरमा बनेको मौसमी प्रणालीको प्रभावले केही दिनदेखि नेपालमा मौसम बदली गराउँदै चिसोको मात्रा बढाइरहेको मौसमविद्ले बताएका छन् । हिजो र अस्ती धुम्म भएको आकाश आज (शनिबार) बिस्तारै खुल्न थालेपछि चिसो बढेको छ । हिजोको तुलनामा आज मौसम केही खुलेको छ ।

बेलुकीदेखि मौसम अझै सुधार हुने तर पारिलो घाम लाग्न भने केही दिन लाग्ने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । उनका अनुसार अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव कायमै रहेकाले आज दिनभर आकाश आंशिक रुपमा मात्रै खुल्नेछ ।

बेलुकीदेखि भने आंशिकदेखि मौसममा क्रमशः सुधार हुँदै जाने उनले बताइन् । मौसमविद् मानन्धरका अनुसार आज बेलुकीभन्दा भोलि अझै बढी आकाश खुल्नेछ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक÷दुई ठाउँमा सामान्य बद्ली भइ हल्का वर्षाको सम्भावना छ । यस्तै राति उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार भोलि वाग्मती, गण्डकी र प्रदेश–१ को उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हल्का हिमपात हुनेछ । यस्तै न्यूनतम तापक्रम घट्न थालेपछि देशभर चिसो बढेर गएको छ । काठमाडौंको न्यूनतम तापक्रम हिजोभन्दा आज घटेको छ । हिजो यतिबेला काठमाण्डौको तापक्रम ११ दशमलव १ डिग्री सेल्सियस रहेकोमा आज ८ डिग्री सेल्सियस मापन गरिएको छ । आकाश खुलेसँगै न्यूनतम तापक्रम घट्न थालेको हो ।

आज (शनिबार) बिहान ६ बजे मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ ।
‘नेपालमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभावका कारण देशका अधिकांश भू–भागमा बदली भई देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावान छ’, चेतावनीमा भनिएको छ, ‘सो प्रणालीको प्रभावले देशका अधिकांश भू–भागमा चिसो ढ्ने क्रममा रहेको र तुँवालोको कारणले पारदर्शितमा समेत कमी आउन सक्ने देखिएकाले सडक तथा हवाई यातायात क्षेत्रमा समेत सामान्य प्रभाव पर्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।’

You may also like

This will close in 0 seconds