काठमाडौं । जनशक्ति पार्टी नेपालका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा गणतन्त्र आए पनि नेताहरुमा अहिले पनि द्रव्य शाहकै सन्तानको जस्तो चरित्र कायमै रहेको बताएका छन् । गृह जिल्ला गोरखा नगरपालिका–१० छेपेटारमा मंगलबार भएको भेटघाटका क्रममा पूर्व प्रधानमन्त्री समेत रहेका उनले यस्तो बताएका हुन् ।
‘मसँगकै साथीहरु दरबारमा बस्न थाले । द्रव्य शाहकै सन्तान जस्तो गर्न थाले’, उनले भने, ‘नेताहरु सामन्ती हुँदै जाँदा देशमा पुरानै प्रकारको कुलिन–सामन्ती राजनीति फर्किदैछ ।’ भट्टराईले सत्ता भनेको एउटा रोग भएकाले नेताहरुले सचेत हुनुपर्ने औंल्याएका छन् । ‘सत्ता भनेको पनि एउटा रोग हो । जनताको पक्षमा प्रयोग गर्न नसके हामी पनि रोगी र भ्रष्टाचारी हुन्छौं’, उनले भने, ‘हामीले जनतालाई भेट्न महलमा बोलाउने होइन, हामी चाहिँ जनता माझ जानुपर्छ ।’

उनले राजाहरुको जस्तै नेताहरुले पनि अहिले दर्शन भेटको चरित्र उतार्न थालेको भन्दै कटाक्ष गरेका छन् । ‘हामीले सकेका कुरा गर्ने हो नसकेका नगर्ने हो । हामी अहिले संकटपूर्ण अवस्थामा छौं । यसलाई हल गर्न पहिले राजनीतिलाई सफा गर्नुपर्छ’, उनले थपे, ‘दलहरु र नेता ठीक भएनन् भने सबै बेठीक हुन्छ । त्यसैले नेताहरु सुध्रिनु पर्छ ।’