बझाङमा पहिरोले सात घर पुरिए, एकै घरका १८ सहित २३ जना बेपत्ता

by समतल अनलाइन
166Shares

बझाङ। बझाङको थलारा गाउँपालिका–४ डिख्लामा हिजो (सोमबार) राति पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । गाउँभन्दा माथिको ढोगदिना भन्ने ठाउँबाट पहिरो खस्दा दुई गाउँका स्थानीयवासी विस्थापित भएका छन् भने भने सात घर पुरिएका छन् ।

बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका पाँच जना रहेका छन् । गगने सार्की रोजगारीका लागि भारतमा छन् । उनका माइला छोरा काले सार्की मात्र सकुशल छन् । तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीयवासी विस्थापित भई त्रिभुवन मा.वि महेन्द्रधारमा बसेका छन् ।

गाउँ पहिरोको जोखिममा परेपछि सयभन्दा बढी परिवार विस्थापित भइ आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ति मा.वि पाराकाट्नेका शिक्षक मदनबहादुर साउदले बताए । सुदूरपश्चिमका पहाडी जिल्लामा सञ्चार सेवा बन्द हुँदा थप विवरणका लागि सम्पर्क हुन सकेको छैन ।

बाढीले सडक बन्द भएको र नेटवर्क नहुँदा समयमै खबर नपाएकाले उद्धारमा समस्या भइरहेको स्थानीयवासीले बताएका छन् । उनीहरूले पहिरोमा परेर बेपत्ता भएको भन्ने खबर आएको तर लगातारको वर्षाले बाटो बन्द भएकाले घटनास्थलसम्म जान नसकिएको बताएका छन् ।

 

You may also like