काठमाडौं।२०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘अक्षम’ प्रधानमन्त्री भन्दै अपदस्थ गरे । मुलुकको शासन सत्ता आफ्नो हातमा लिए । घोषणा लगत्तै तत्कालीन एमालेको भातृ संगठन अनेरास्ववियु यसको विरुद्धमा उभियो । त्यही दिन तात्कालिन अनेरास्ववियुका अध्यक्ष राजेन्द्र राईले भने, ‘नागरिकको अधिकार एक दिन र एकछिनका लागि पनि खोस्न पाइँदैन ।’
दलहरुभन्दा एक कदम अघि अनेरास्ववियुले ‘राजतन्त्रको समाप्ती र गणतन्त्र स्थापना’को नारा र मुद्दा उठाए । दलहरु डराएको वा अलमल भएकै अवस्थामा विद्यार्थीहरुले नारायणहिटी नजिकैको रत्नपार्कबाट राजतन्त्र मुर्दावाद गणतन्त्र जीन्दवादका नारा सुरु गरे । त्यही आन्दोलनको ‘पोस्टर गर्ल’ थिइन्, रामकुमारी झाँक्री । नेविसघंको गगन थापाहरु अनेरास्ववियुका रामकुमारीहरु जनआन्दोलनको ‘आइकन’ भए ।
यही पृष्ठभुमीमा सुरु भएको आन्दोलनको तागतबाट संघीय गणतन्त्रको स्थापना भयो । उतिबेला राजेन्द्र रामकुमारीहरुले जनतालाई भनेका थिए, ‘यो अन्तिम लडाई हो । सडकमा आउनुहोस् ।’ यही आन्दोलनले राजतन्त्र फालियो । जनआन्दोलनपछिका बर्षमा रामकुमारी अनेरास्ववियुको अध्यक्ष बनिन् ।
अनेरास्ववियुको अध्यक्ष बनेपछि उनी नेकपा (एमाले)को राजनीतिको मुलधारमा आइन् । कहिले पार्टी सत्ता, कहिले पार्टीभित्र विद्रोह । तत्कालिन पार्टी अध्यक्ष झलनाथ खनाल पार्टी सत्तामा भएको समय बाहेक उनी पार्टीभित्र पनि विद्रोही समूहमा नै थिइन् । जनआन्दोलनमा अन्तिम लडाई भनेर सडकमा आएकी रामकुमारीको लागि अन्तिम लडाई भएन । पार्टीभित्रको लडाई सधैं पेचिलो बन्यो । कहिले त निर्मम ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुस २०७७ मा प्रतिनिधिसभा विघटन गरेपछि यसलाई ‘प्रतिगमन’ भनेर सडकमा आइन् । नेतृत्व गरिन् । जनआन्दोलनमा तत्कालिन सत्ताको निशानामा परेकी रामकुमारी फेरि निशानामा परिन् । गत २९ माघ २०७७ मा पक्राउ परिन् ।
उनीहरुले नै जनआन्दोलनमा रगत बगाएर ल्याएको गणतन्त्रमा अभिव्यक्ति दिएर ‘राज्यबिरुद्ध कसुर’को आरोपमा गिरफ्तार भइन् । सर्वत्र विरोध भएपछि पाँच घण्टा हिरासतमा राखेर प्रहरीले बयान लिएर उनलाई छोड्यो । त्यस यता उनको पार्टीमा अनेकन आरोह आइलाग्यो । तर रामकुमारीले निरन्तर विद्रोहकै बाटो रोजिन् ।
निरन्तरको शक्ति संघर्षले पार्टी विभाजनको अवस्था आयो । पार्टी विभाजनमा पनि रामकुमारीले विद्रोह अर्थात् तत्कालिन वरिष्ठ नेता माधवकुमार नेपालसँगै नयाँ पार्टी निर्माणमा लागिन् । एमालेबाट विद्रोह गरेर निर्माण गरिएको नेकपा (एकीकृत समाजवादी)को सचिव बनिन् ।
राजनीतिक जीवनका निकै अप्ठ्यारोमा साथ दिएका धेरै प्रियजनहरु छोडेर उनीले समाजवादी रोजेकी थिइन् । त्यही विद्रोहको बाटो भएर शुक्रबार २२ असोज २०७८ मा मन्त्रीको जिम्मेवारी लिएर सिंहदरबार छिरेकी छिन् । सदाबाहार विद्रोही रामकुमारी शुक्रबार मुस्कुराउँदै सहरी बिकास मन्त्रालय छिरेकी छिन् ।
सधैं विद्रोह
गुल्मीको सामान्य मगर परिवारमा जन्मिएकी रामकुमारीले अहिलेसम्म हिडेको बाटो हो, बिद्रोह । विद्यार्थी राजनीतिमा सक्रिय रहदा ०५४ सालमा एमाले फुट्यो । महाकाली सन्धिको विपक्ष अर्थात् राष्ट्रियताको मुद्दामा उनी मालेमा लागिन् । २०५८ सालमा वामदेवसँगै घनश्याम भुसाल, योगेश भट्टराई, ठाकुर गैरेहरुसँग उनी एमालेमा फर्किएकी थिइन् ।
एमालेमा फर्किएपछि केही समय उनीहरुलाई किनारामा राखियो । तर जब ज्ञानेन्द्रले मुलुकको शासन सत्ता आफ्नो हातमा लिए । विद्रोह सुरु भयो । विद्रोहमा पटक पटक पक्राउ परिन् । आन्दोलनकै क्रममा प्रहरीले प्रहार गरेको लाठी लागेर रगतपच्छे भएको उनको तस्बिर चर्चित बन्यो । विद्रोहको प्रतिक बन्यो । जनआन्दोलनकी ‘पोस्टर गर्ल’ को रुपमा उनी चर्चित बनिन् ।
राजा बिरुद्धको आन्दोलनले उनी लोकप्रिय बनिन् । त्यही जगमा उनी अनेरास्ववियुको पहिलो महिला अध्यक्ष बनिन् । ०७१ सालमा भएको नवौं महाधिवेशनमा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भइन् । गत प्रतिनिधिसभा चुनावपछि समानुपातिक कोटाबाट ०७४ मा सांसद बनिन् ।
गत निर्वाचन लगत्तै माओवादी र एमालेवीच एकता भयो । पार्टी एकतापछि संस्थापन भए अध्यक्ष केपी शर्मा ओली र उनको समूह । उनी विद्रोही पक्षमा उभिन् । यसको नेतृत्व गरे, तात्कालिन वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपालले ।
नयाँ पार्टी दर्ताको क्रममा रामकुमारी
२३ फागुन २०७७ सम्म दुईवटा नेकपा थियो, एउटा माधव–प्रचण्डको नेकपा, अर्को केपी ओलीको नेकपा । २३ फागुनमा सर्वोच्च अदातलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेर नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई पूर्ववत अवस्थामा फकाई दिएको थियो ।
अदालतको फैसलापछि एमालेका वरिष्ठ नेता नेपाल समूह २४ फागुनमा एमाले क्रियाशिल बन्ने निर्णय गरेर फर्किएको थियो । तर, पार्टी अध्यक्ष ओलीले २८ फागुनमा आफू निकट नेताहरुको बैठक राखेर नेपाल समूहलाई ‘प्रवेश निषेध’ गर्ने गरी विभिन्न निर्णय गरे ।
त्यसपछि अनेकन आरोह पार्टीभित्र चल्यो । विवाद समाधान गर्न गठित कार्यदल बन्यो । कार्यदललले २७ असारमा १० बुँदे सहमति जुटायो । यही १० बूँदेलाई आधार बनाएर राजनीतिक जीवनका अनेक घुम्तीहरुमा सँगै रहेका उनी निकट घनश्याम, योगेश र ठाकुरहरु एमालेमै बस्ने निर्णयमा पुगे । तर उनले बिद्रोही रोजिन् । रुदैं रुदैं घनश्याम र योगेशहरुसँग छुट्टिएको समाचार पनि मिडियामा आयो । त्यही विद्रोहको बाटोले उनी मन्त्री बनेकी छिन् ।
पदभार ग्रहणपछि रामकुमारी
शुक्रबार पदभार ग्रहण गर्दै रामकुमारीले कर्मचारीहरुलाई बोल्नु भन्दा नी बढी काम गर्न निर्देशन दिएकी छिन् । भनेकी छिन्, ‘भन्ने भन्दा धेरै सुन्ने, सुन्नेभन्दा धेरै गर्ने हो । के काम गर्न सकिन्छ गरौं । सहरी विकास मन्त्रालयले बजेट समर्पण गर्यो भन्ने सुन्नु नपरोस् ।’ अब रामकुमारी झाँक्री भन्ने होइन गर्ने ठाउँमा पुगेकी छिन् ।
रामकुमारी आजसम्म प्रश्न गर्ने बाटोमा थिइन् । प्रतिरोधको बाटमा थिइन् । आजदेखि उत्तर दिने ठाउँमा पुगेकी छिन् । सधैं आलोचना गर्ने ठाउँमा थिइन् । अब आलोचना सुन्ने ठाउँमा पुगेकी छिन् । ‘रामकुमारीको अबको यात्रा कस्तो होला ?’ यसको निर्धारण मन्त्रीको कुर्सीमा बसेर दिने उत्तर अर्थात् कामले निर्धारण गर्नेछ ।