पाँचथर अस्पतालमा बालिकाको मृत्यु प्रकरण : पाँच सदस्यीय छानबिन समिति गठन

by समतल अनलाइन
Shares

पाँचथर। पाँचथर जिल्ला अस्पतालमा उपचाररत साढे तीन वर्षीया एक बालिकाको मृत्यु प्रकरण छानबिनका लागि स्थानीय प्रशासनले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

दुई दिनअघि पाँचथरकै फालेलुङ गाउँपालिका–८ घर भई फिदिम नगरपालिका–२ बस्ने कमल थाम्सुहाङकी साढे तीन वर्षीया छोरी कृष्टिना थाम्सुहाङको उपचारका क्रममा मृत्यु भएको थियो । चिकित्सकको लापरबाहीले बालिकाको मृत्यु भएको भन्दै बालिकाका आफन्त र स्थानीयले अस्पतालमा तोडफोड गरेका थिए ।

तोडफोडबाट अस्पतालको बाहिरी संरचनामा क्षति पुगेको छ । अस्पतालको आकस्मिक कक्ष, कोभिड–१९ सङ्क्रमितको उपचार हुने एचडीयूसहित अस्पतालका झ्याल ढोका सहितका संरचना फुटेका छन् । पाँचथरका प्रमुख जिल्ला अधिकारी पुष्यप्रसाद ढकालसहित सुरक्षा निकायका प्रमुख, अस्पताल व्यवस्थापन समिति, नागरिक समाज र राजनीतिक दलसँगै मृतकका आफन्तसहितको उपस्थितिमा भएको छलफलमा समिति गठन भएको हो ।

घटनाका छानबिनका लागि नेपाल रेडक्रस सोसाइटी पाँचथरका सभापति कृष्णप्रसाद बास्कोटा संयोजकत्वमा समिति गठन गरिएको छ । समितिको सदस्य सचिवमा पाँचथर अस्पतालका मेडिकल रेर्कड अधिकृत नारायण जोशी, मृतकका पिता कमल थाम्सुहाङ, आफन्त होमराज थाम्सुहाङ र पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दीपक नेपाल सदस्य छन् ।

समितिले ७ दिनभित्र छानबिन प्रतिवेदन तयार पार्ने समय सीमा तोकिएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । समिति गठनपश्चात बालिकाको अन्त्येष्टि गर्न ४० हजार रुपैयाँ उपलब्ध गराउन स्थानीय प्रशासन सहमत भएको छ । यो सहमतिसँगै मृतकको शव पोस्टमार्टम गर्न अविभावक सहमत भएका छन् ।

ज्वरो आएपछि अस्पताल भर्ना भएकी बालिकालाई बधबार बिहान चिकित्सकले सुई लगाइ दिएलगत्तै मृत्यु भएको थियो । बालिकाको मृत्यु भएपछि अस्पतालमा तोडफोड र स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार हुँदा अस्पतालको आकस्मिक बाहेकका सबैखाले सेवा बिहीबारदेखि बन्द गरिएको छ ।

You may also like