बुटवल । कोरोना महामारीका कारण थला परेको पर्यटनलाई पुनरुत्थान गर्दै पर्यटक आकर्षित गर्न लुम्बिनीका होटेल व्यवसायीले साविक भन्दा आधा सस्तो शुल्कमा टुर प्याकेज घोषणा गरेका छन् । विश्व पर्यटन दिवसको अवसर पारेर लुम्बिनी होटेल संघले असोज १५ गतेदेखि कार्तिक मसान्तसम्म लागू हुने गरी दुई हजार रुपैयांको दुई दिने प्याकेज घोषणा गरेको हो ।
लुम्बिनी होटल संघका अध्यक्ष मिथुन श्रेष्ठका अनुसार यो प्याकेज अन्तर्गत पर्यटकले लुम्बिनीमा दुई दिन घुम्न, खान र एक रात बास बस्न पाउने छन् । प्याकेजको पहिलो दिन बसपार्कबाट होटलसम्म ल्याउने, लुम्बिनीबारे जानकारी दिने, विश्राम गर्ने र साँझ लुम्बिनी तथा बुद्वग्राम रोबोटिक थिएटर भ्रमण र खाना रहेका छन् ।दोस्रो दिन बिहानको खाजादेखि मायादेवी मन्दिर र गुम्बा भ्रमण, अन्तर्राष्ट्रिय विहार क्षेत्र भ्रमण, दिउँसोको खाना, विश्राम र बिदाई रहेका संघका महासचिव अध्यक्ष लिलामणि शर्माले जानकारी दिए । ‘यो प्याकेजमा दुई बेड भएको कोठा, साँझको खाना, बिहान ब्रेकफाष्ट, धुप वत्ती, गाइड, बुद्वग्राम रोबोटिक थिएटर टिकट, लन्च, मायादेवी मन्दिर प्रवेश टिकट र अन्तर्राष्ट्रिय बिहार क्षेत्र भ्रमणका लागि यातायात व्यवस्था छन्’–शर्माले भने–‘साविक भन्दा यो शुल्क आधा सस्तो हो ।’

पयाकेज अवधिमा लुम्बिनी आउने पाहुनाले चाहेमा कपिलवस्तु,रामग्राम र भारतका बौद्व क्षेत्र पनि भ्रमण गराउन सकिने संघले जनाएको छ । सरकारले अन्तराष्ट्रिय सीमा नाकाहरु पनि खुला गर्ने निर्णय गरेपनि पर्यटक आगमन न्यून रहेकाले कोरोना महामारीका कारण थला परेको लुम्बिनीको पर्यटन व्यवसायलाई उकास्न यो टुर प्याकेजले सकारात्मक प्रभाव पार्ने लुम्बिनीका होटल व्यवसायी अक्रम खानको अपेक्षा छ । ‘झण्डै दुई वर्ष ठूलो नोक्सानी ब्यहोर्नु प¥यो,अब पर्यटक आकर्षित गर्न सरकारी निकायले पनि विषेश योजना ल्याउनुपर्छ’–खानले भने ।
लुम्बिनीमा ठूला,मझौला र साना गरी २ सय ५० बढी होटेल रहेका छन् ।सहज अवस्थामा लुम्बिनीमा स्वदेशी तथा विदेशी गरी वार्षिक सरदर १६ लाखको हाराहारीमा पर्यटक आउने गरेपनि डेढ वर्ष यता पर्यटक आगमन अत्यन्तै न्युन रहेको लुम्बिनी विकास कोषका सूचना अधिकारी राजन बस्नेतले बताए । ‘कोरोना महामारी अन्त्य नभएकाले भारत र तेस्रो मुलुकबाट पर्यटक आगमन नगण्य छ’–बस्नेतले भने–‘व्यवसायीको टुर प्याकेजले आन्तरिक र वाह्य पर्यटकको आगमन बढ्न सक्छ ।’