काठमाडौं। काठमाडौं उपत्यकामा आज (बुधबार) दिनभर मौसममा बदलीको अवस्था रहेको मौसमविदले जनाएका छन् । दिउँसो ११ बजे केही समय काठमाडौं उपत्यकामा घाम लागे पनि बाँकी समय मौसममा बदली हुँदा घाम नलाग्ने मौसमविद् मञ्जु बासी बताउँछिन् ।
काठमाडौंमा छिट्पुट तथा सामान्य वर्षाको सम्भावना पनि रहेको उनको भनाइ छ । सात वटै प्रदेशमा आज मौसममा बदली रहने र सामान्य तथा मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज दिउँसो देशभर सामान्य बदली रही बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान शाखाले दिएको जानकारी अनुसार राति देशभर सामान्य बदली रही लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जनर चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
‘सबै प्रदेशमा आज मौसम बदली रहने छ र अधिकांश प्रदेशका केही स्थानमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको छ’, मौसमविद् मञ्जु बासीले भनिन् । उनका अनुसार शुक्रबारबाट मौसम खुल्ने छ । बिहीबार पनि देशभर मौसममा बदली हुनेछ ।