कक्षा १२ को परीक्षा आजदेखि, होम सेन्टरबाटै परीक्षा दिन पाइने

by समतल अनलाइन
Shares

काठमाडौं। नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित कक्षा १२ को परीक्षा आज (बुधबार) देखि शुरु हुँदैछ ।
राष्ट्रिय परीक्षा बोर्डले परीक्षा आजदेखि सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षा असोज ८ गतेसम्म सञ्चालन हुने बोर्डले सूचनामार्फत जानकारी दिएको छ । परीक्षा समय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ ।

यसअघि गत साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरिएको थियो । तर कोरोना भाइरस संक्रमण बढेको भन्दै फेरि स्थगित गरिएको थियो । राष्ट्रिय परीक्षा बोर्डले पुनः विद्यार्थीहरुलाई भौतिक रुपमै उपस्थित गराएर आजदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । परीक्षा केन्द्रमा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा गर्न बोर्डले अनुरोध समेत गरेको छ ।

विषम् परिस्थिति भएकोले यो वर्ष विद्यार्थीलाई होम सेन्टरबाटै परीक्षा दिने व्यवस्था गरिएको छ । साथै, कोरोना संक्रमण पुष्टि भएका विद्यार्थीलाई पनि छुट्टै राखेर परीक्षा लिन सकिने व्यवस्था बोर्डले गरेको छ । यस पटकको कक्षा १२ को परीक्षामा तीन लाख ७४ हजार जना विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । भौतिक रुपमै परीक्षा सञ्चालन हुने भएपछि सरकारले कक्षा ११ र १२ का परीक्षार्थीलाई कोरोना भाइरसविरुद्धको खोप पनि दिएको छ ।

You may also like