काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारमा देखिएको समस्या समाधान गर्न गभर्नर महाप्रसाद अधिकारीलाई निर्देशन दिएका छन् । राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा आज टेलिफोन गरेर मन्त्री शर्माले तत्काल समस्या समाधान गर्न निर्देशन दिएका हुन् ।
अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन भनेका छन् । उनले कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई निर्देशन दिएका छन् । जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिवद्धता जनाएका छन् ।
शेयर बजारका लगानीकर्ताले मागे गभर्नरको राजीनामा
पुँजीबजार सुधार संघर्ष समितिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिरकारीको राजीनामाको माग गरेको छ । अर्थ मन्त्रालयलाई समेत बोदार्थ दिएर आज बुझाइएको ज्ञापनपत्रमा १८ बुँदे माग राखिएको छ ।
‘नेपाल राष्ट्र बैंकबाट पुँजी बजारको अस्तित्व नै धरापमा पार्न नियोजित रुपमा तयार गरिएका नीति कार्यक्रम र कार्यनीतिहरुले समग्र पुँजीबजार अघि बढ्न सकिरहेको छैन । त्यसकारणले गभर्नरज्यूको तत्काल र राजीनामाको माग गर्दछौं’, ज्ञापनपत्रमा भनिएको छ ।
त्यस्तै तत्कालीन अर्थमन्त्रीद्वारा पारित गरिएको ५८ बुँदे सहमतिलाई अक्षरस पालना गर्न पनि माग गरिएको छ ।