भदौं २८ गते इजरायल जाने श्रमिक छनोटको भाषा परीक्षा, १६ सय उत्तीर्ण हुने

by समतल अनलाइन
Shares

काठमाडौं। केयर गिभरका लागि इजरायल जाने श्रमिक छनौटका लागि आउँदो भदौ २८ गते भाषा परीक्षा हुने भएको छ । दिउँसो १ बजेबाट हुने परीक्षामा करिब साढे ७ हजार परीक्षार्थी सहभागी हुने वैदेशिक रोजगार विभागले जानकारी दिएको छ ।

साउन १२ गतेदेखि ३२ गतेसम्म अनलाइन आवेदन लिइएकोमा ९,६९९ जनाको आवेदन परेको छ । ती आवेदन प्रमाणीकरण गर्दा करिब साढे ७ हजार जना लिखित परीक्षामा सहभागी हुने विभागका निर्देशक कमल ज्ञवालीले बताए । परीक्षामा सहभागी हुनेलाई विभागले इमेलमा नै प्रवेश पत्र पठाउनेछ । परीक्षा केन्द्र पनि त्यहीं तोकिने निर्देशक ज्ञवालीले जानकारी दिएका छन् ।

परीक्षामा सहभागी हुनका लागि आफ्नो परिचय खुल्ने सक्कल कागजात र प्रवेशपत्र प्रिन्ट गरेर लैजानु पर्नेछ । लिखित परीक्षा स्वास्थ्य मापदण्ड पालना गरेर काठमाडौंका २० वटा केन्द्रमा सञ्चालन गरिने भएको छ । हरेक कोठामा बढीमा २५ जना र एउटा बेञ्चमा एक जनालाई मात्रै राखिने जनाइएको छ । ८० पूर्णाङ्कको परीक्षामा अंग्रेजी भाषामा ग्रामर र स्वास्थ्यसम्बन्धी प्रश्न सोधिने छ । ४० वटा टिकमार्क प्रश्नको हरेक २ अंकका हुनेछन् ।

लिखित परीक्षामा १,६८० जना छनोट गरिने छ । परीक्षाको नतिजा दुई दिनभित्रमा सार्वजनिक हुने निर्देशक ज्ञवालीले बताएका छन् । प्रश्नपत्र चेकजाँच कम्प्युटर सिस्टमबाट गरिने भएकाले छिटो नतिजा सार्वजनिक हुने भएको हो । लिखित परीक्षाको नतिजा सार्वजनिक भएको १० दिनभित्रमा अन्तर्वार्ता र शारिरीक परीक्षण गर्ने विभागको तयारी छ ।

लिखितमा जस्तै अंग्रेजी ग्रामर र स्वास्थ्य सम्बन्धि प्रश्न सोधिने छ भने, शारिरीक परीक्षणमा उचाइ, तौल नापिने छ । इजरायल जाने श्रमिकको तौल कम्तिमा ४५ किलो र उचाई १.५ मिटर हुनुपर्नेछ । अन्तर्वार्ता र शारिरीक परीक्षणपछि विभागले १४ सय जना छनोट गरेर नेपालस्थित इजरायल दूतावासमा पठाउनेछ । दूतावासले चिट्ठा प्रक्रियाबाट एक हजार श्रीमक छनोर गरेर भिसाको प्रक्रिया सुरु गर्ने विभागले जनाएको छ ।

इजरायल जानका लागि ७ सय महिला र ३ सय जना पुरुष छनोट हुनेछन् । इजरायलले ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष लैजाने सम्झौता छ । आवेदन दिने भने पुरुष धेरै छन् । ५,४९९ जना पुरुष र ४ हजार २ सय जना महिलाले आवेदन दिएका छन् । इजरायल जाने श्रमिकले सरकारलाई एक लाख ६५ हजार रुपैयाँ बुझाउनु पर्नेछ ।

इजरायलमा सरकारले नै श्रमिक पठाउन लागेको हो । उनीहरुले इन्स्योरेन्स, भिसा, स्वास्थ्य जाँच, हवाई टिकटलगायतका खर्च आफैं व्यहोर्नु पर्ने भएको हो । केयर गिभरमा जानेले हप्ताको ४२ घण्टा काम गर्नुपर्नेछ । नेपालीले पनि त्यहाँका नागरिकसरह नै सुविधा पाउने छन् । इजरायलको वर्तमान तलब व्यवस्थाअनुसार एक लाख ८६ हजार रुपैयाँ (स्थानीय ५३ सय अथवा १६ सय अमेरिकन डलर) मासिक कमाइ हुनेछ ।

You may also like

This will close in 0 seconds