बुवाको कपाल काट्ने पेशालाई व्यवसायीक बनाएका युवा उद्यमि; मोहन

by समतल अनलाइन
Shares

बुटवल । रुपन्देहीको देवदह नगरपालिकामा जन्मिएका मोहन ठाकुर बुटवलको समृद्धि हेयर सैलुनका सञ्चालन हुन् । ३३ वर्षीय ठाकुर युवा जोश अनि उद्यमशीलतामा विश्वास राख्दै अगाडि बढेका छन् ।

बुटवलको अमरपथस्थित सिंह कम्प्लेक्समा रहेको सैलुनलाई मोहनले छोटो समयमै नयाँ ब्रान्डको रुपमा पस्केर लोकप्रिय बनाएका छन् । मोहन सानैदेखि पढाइमा लगनशील थिए । बुवा रामविनोदले आफ्नो पुस्तौंदेखि गर्दै आएको कपाल काट्ने पेशा छोरोहरूले नगरुन् भनेर दुःखका साथ उनलाई निजी स्कूलमा पढाए ।
रामविनोदको देवदह सित्तलनगरमा कपाल काट्ने सलुन थियो । मोहन स्कूल बिदाको दिन सलुनमा गएर बुवालाई काममा पनि सघाउँथे, अन्य समय पढाइमै ध्यान दिन्थे । देवदहकै ग्रीन प्लान्ट बोर्डिङ स्कूलबाट मोहनले २०५८ सालमा एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरे । एसएलसीपछि मोहन बुटवलको अक्सफोर्ड कलेजमा ११ कक्षामा व्यवस्थापन संकाय लिएर उच्च शिक्षाको अध्ययनमा जोडिए । उनले ‘प्लस टु’ पनि प्रथम श्रेणीमा नै उत्तीर्ण गरे ।

स्नातक पढ्न व्यवस्थापन संकायलाई छाडेर उनी अंग्रेजी विषय लिएर बुटवल बहुमुखी क्याम्पसमा भर्ना भए । पढाइसँगै उनले बुटवलका विभिन्न रेडियोमा कार्यक्रम उत्पादन गरेर प्रसारण गर्न थालेपछि रेडियो सुन्नेहरूमाझ पनि मोहन लोकप्रिय बने । बुटवल बहुमुखी क्याम्पसबाटै बीए पास गरी मोहनले विभिन्न गैरसरकारी संस्थामा झण्डै २ वर्षभन्दा बढी काम गरे । उनले काम गरेका संस्थाका कार्यक्रम सीपलाई रोजगारसँग जोड्ने खालका थिए । काम गर्दै जाँदा मोहनले सीपलाई रुपान्तरण गरेर नयाँपनका साथ फरक ढंगले सञ्चालन गरेमा धेरैको मन जित्न सकिने आत्मविश्वास र अनुभव संगाले । काममा लागेपछि स्नातकोत्तर भर्ना भए तर पढाइ पूरा गर्न भने सकेनन् । मोहन परिवारको जेठो सन्तान, जिम्मेवारी पनि बढी ।

जागिर गरेर हुँदैन आफूले नै केही व्यवसाय गर्नुपर्छ भन्ने उनको सोचले जित्दै गयो । पढे–लेखेको छोराले आफूहरूले जस्तो दुःख पाएको पेशा नगरे हुन्थ्यो भन्ने अभिभावकको आशय थियो । आफूहरूले गाउँगाउँ डुलेर कपाल काट्दा पाएका दुःख सम्झिएर विरक्त थिए मोहनका अभिभावक । मोहनको मनमा एउटा प्रश्न खड्किरह्यो – हाम्रो पुस्ताले यो पेशा छाडेर अन्यत्र मोडिए पेशा नै संकटमा पर्छ कि ! उनी यो पेशालाई सबैले सम्मान गर्न लायक र आधुनिक कसरी बनाउन सकिन्छ भनेर सोच्न थाले ।

मोहनले गूगल सर्च गर्नेदेखि काठमाडौं, दिल्ली हुँदै बैंककसम्म पुगेर हेयर स्टाइलका विभिन्न एडभान्स कोर्स गरेर आफू नै पूर्ण दक्ष बने । अनि सलुन क्षेत्रमा नयाँपन दिने गरी २०७३ सालमा कम्प्लेक्सको चौथो तलामा पहिले निल डेभिड सलुन तथा पार्लर शुरू गरे। कालान्तरमा सोही सैलुनको नाम परिवर्तन गरेर अहिले समृद्धि हेयर सैलुनको रुपमा सञ्चालन गरिरहेका छन् । करिव ४ बर्ष निल डेविडको नाममा संचालन गरेर अहिले सम्मृद्दी हेयर सलुन तथा पार्लर संचालन गरेका छन । मोहनले आफ्नो ब्रान्ड बनाउनको लागि बाजेबराजुकै पेशाको कैची र छुरा उचाले ।

फलामे घरेलु औजारबाट ढुंगा र काठको मुढामा बसेर दाह्री र कपाल काट्दै हिँड्ने हजुरबुबा गोली ठाकुरबाट मोहनको पुस्तामा आउँदा पेशा परिमार्जित र व्यावसायिक बन्दै अहिले वातानुकूलित एसी कोठामा आइपुगेको छ । ‘मैले नयाँ काम शुरू गरेको होइन, पुरानै कामलाई नयाँ तरिकाले मात्रै गरेको हुँ,’ मोहन भन्छन्, ‘रुपन्देहीमा ५० वर्ष अगाडिदेखि सलुनहरू थिए र छन् । तर त्यही कामलाई नयाँ तरिकाले मात्रै पस्किने प्रयास गरेको हुँ । यसैमा म सफल हुने प्रयासमा छु ।’ ३ वर्षअघि शुरू गरेको मोहनको निल डेभिड सलुनमा ७ जना कर्मचारी छन् । तीमध्ये ४ जना महिला छन् । जसले पुरुषहरूको समेत कपाल निर्धक्क काटिदिन्छन् भने २ जना पुरुषले महिलाको शृंगार समेत गर्छन् । सेवाग्राहीको भीड बढ्दा मोहन आफैं पनि कपाल काट्नेदेखि अन्य सबै काम गर्न पछाडि हट्दैनन् । ८ लाख रुपैयाँबाट व्यवसाय शुरू गरेको सलुनमा मोहनको लगानी अहिले ६० लाख पुगेको छ ।

नयाँ पुस्ताले नयाँपन खोज्दै जाँदा सलुनलाई मोहनले सुविधासम्पन्न बनाएका छन् । ‘युवा पुस्ताले गुणस्तर खोज्छ । बाहिरबाट देख्दा एसी र कुर्ची राम्रो हुँदैमा गुणस्तरण हुँदैन । दक्ष कामदार चाहिन्छ,’ उनले भने । मोहनको सलुनमा काम गर्नेहरू दुबईदेखि भारतका विभिन्न पार्लरहरूमा काम गरेका अनुभवी कामदार हुन् । स्नातकसम्म अध्ययन गरेको व्यक्ति परिवारले अन्य पेशा गरे हुन्थ्यो भन्दाभन्दै पनि मोहनले किन पुर्ख्यौली पेशा नै रोजे,’ मोहन हाँस्दै भन्छन्, ‘पढेका कुरा अहिले व्यवसायमा काम लागिरहेको छ । बुवालाई सहयोग गरेको सीप काम लागेको छ । अरुलाई धेरै थाहा हुन्न, मलाई सबै आउँछ । आफ्नो स्कीललाई अपडेट गर्दै नेपाली सुन्दरता प्रदान गर्ने कामलाई संस्कृति बनाउन खोजिरहेको छु ।’

You may also like

This will close in 0 seconds