भारतको ज्यादतीविरुद्ध प्रतिकारमा उत्रिन विप्लवसहित चार दलको आग्रह

by समतल अनलाइन
Shares

काठमाडौं। दार्चुलामा नेपाली नागरिक चढेको तुइन भारतीय सीमा सुरक्षा बलले काटेर अमानवीय ज्यादती गरेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार दलले संयुक्त विज्ञप्ति निकालेर आपति जनाएका छन् ।

नेकपा महासचिव विप्लव, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’, नेकपा अध्यक्ष ऋषिराम कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका संयोजक आहुतिले निकालेको संयुक्त विज्ञप्तिमा भारतीय ज्यादतीविरुद्ध प्रतिकारमा उत्रिन आह्वान गरिएको छ ।

‘एसएसबीले काटिदिएर नेपाली नागरिक महाकालीमा बेपत्ता बनाएको घटना नेपाली राष्ट्रिय स्वाधीनतामाथिको भारतीय शासक वर्गको नाङ्गो षड्यन्त्र र हस्तक्षेप हो’, उनीहरुले भनेका छन्, ‘यो घटनामा बेपत्ता जयसिंह धामीको अवस्था सार्वजनिक गर्न, परिवारलाई न्याय र राहतको व्यवस्था तथा दोषीलाई यथाशिघ्र कारवाहीका लागि विश्वासिलो छानबिन अगाडि बढाउन नेपाल सरकारसँग हामी माग गर्दछौं ।’

दार्चुलाको मालघाट तुइन काटिनु नेपालीको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वनिर्णयको अधिकारविरुद्धको हेपाहा र षड्यन्त्रमूलक घटना भएको चार दलले जनाएका छन् । उनीहरुले भारतीय पक्षले गराएको यस घटनाको डटेर प्रतिरोध गर्न पनि नागरिकलाई आह्वान गरेका छन् ।

‘यथाशक्य चाँडो घटनाको वास्तविकता नेपाली जनताबीचमा सार्वजनिक गर्न र दोषीमाथि कारबाही ढिला गरियो भने हामी चार पार्टी संयुक्त संघर्षमा जान बाध्य हुनेछौँ’, उनीहरुले विज्ञप्तिमा भनेका छन् । यसैबीच विप्लव नेतृत्वको नेकपाले शनिबारदेखि नै भारतविरुद्ध सडक संघर्ष थालेको छ । विप्लवका कार्यकर्ताले आजै राजधानीमा विरोध जुलुस निकाल्दै भारतीय सुरक्षाकर्मीमाथि कारवाही माग गरेका छन् ।

You may also like

This will close in 0 seconds