लुम्बिनी सरकार अल्पमतमा रहेको भन्दै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र

Shares

बुटवल। लुम्बिनी प्रदेश सरकार अल्पमत (अवैध) रहेको भन्दै प्रदेशका विपक्षी गठबन्धनले नव नियुक्त प्रदेश प्रमुख अमिक शेरचनलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका प्रदेश सभा सदस्य सशरीर उपस्थित भएर शनिबार ध्यानाकर्षण पत्र बुझाएका हुन् । जसमा संविधानको गरिमा र प्रदेश प्रमुखलाई कमजोर पार्ने एवं असंवैधानिक प्रणालीमा लाग्ने सरकारको गलत नियतलाई सच्चाउन आग्रह गरिएको छ ।

विपक्षी गठबन्धनले संवैधानिक र कानुनी मर्मअनुसार प्रक्रिया थाल्न पनि आग्रह गरेको छ । ध्यानाकर्षणमा वैशाख ६ मा अविश्वासको प्रस्ताव आएपछि मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिनुको साटो सरकारबाट राजीनामा दिएको, वैशाख २१ मा गैरकानुनी नियुक्ति भइ सरकार चलाएको उल्लेख छ ।

यस्तै आफूलाई संविधानको धारा १६८ को १ अनुसार सरकार बनाउन विमला खत्री वली, दीर्घनारायण पाण्डे र अम्मरबहादुर डाँगीको किर्ते हस्ताक्षर बुझाएको, असार ३१ मा जबरजस्त बजेट अधिवेशन अन्त्य गरी साउन १ मा अध्यादेशबाट बजेट ल्याएर एकपछि अर्को रुपमा संविधानलाई कमजोर बनाएको उनीहरुको दाबी छ ।

प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउँदै कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कानोडियाले मुख्यमन्त्रीलाई पटक–पटक संविधानअनुसार हिँड्न र सरकारको वैधानिकता पुष्टि गर्न आग्रह गरे पनि बेवास्ता गरेको बताए । ‘हामीले सच्चिन आग्रह गर्दै ग¥यो तर उहाँले एकपछि अर्को संविधान र कानुन मिच्ने काम गरिरहनु भएको छ । अहिले त स्पष्ट अल्पमतमा रहनु हुन्छ । अब राजीनामा दिएर बाटो खोलिदिनु पर्छ ।’ उनले संविधानको रक्षा र विधिको शासनका लागि मुख्यमन्त्रीलाई सही बाटोमा ल्याउन प्रदेश प्रमुखले प्रक्रिया चाल्नुपर्ने बताए ।

त्यसपछि बोल्दै प्रदेश प्रमुख अमिक शेरचनले ध्यानाकर्षण पत्रबारे मुख्यमन्त्रीलाई जानकारी गराउने र संविधान र विधिअनुसार प्रदेश चलाउन आग्रह गर्ने नत्र प्रक्रिया थाल्ने बताए । ‘पहिला मुख्यमन्त्रीसँगै अवस्था के रहेछ बुझ्छु । भरसक सहज निकास खोल्न आग्रह गर्छु,’ उनले भने, ‘नत्र प्रक्रिया थालेर भए पनि संविधान र विधिमा प्रदेश सरकार हिँडाउनु पर्नेछ ।’

विपक्षी गठबन्धनमा ४१ सदस्य दाबी गरिए पनि एमालेबाट माओवादी केन्द्र रोजेकी विमलाकुमारी खत्री वली उपस्थित थिइनन् । बिहीबार साँझदेखि पाटीको सम्पर्क बाहिर रहेको माओवादी केन्द्रका सचेतक तुलाराम घर्तीमगरले बताए ।

You may also like