काठमाडौं । अद्भूत र तिक्ष्ण स्मरणशक्ति भएको भनेर चर्चामा छाएका विजय शाहीको मृत्युको खबर झुटो रहेको कालिकोट जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु भएको भनेर हल्ला गरिएको शाहीलाई कालिकोटस्थित उनकै घरमा फेला पारिएको डिएसपी चक्रबहादुर शाहीले जानकारी दिए ।
उनले भने, ‘उनको मृत्युको खबर झुटो रहेछ । मैले गाउँमा सम्पर्क गर्दा उनी घरमा आइसकेका रहेछन् । बाहिर सामाजिक सञ्जालमा आएको कुरा झूटो हो ।’

सामान्य बिरामी भएर अस्पताल भर्ना भएका शाहीको निधन भएको भन्दै यसअघि विजय शाहीका शिक्षक दिपकबहादुर शाहीले मृत्यु भएको फोटोसहितको खबर फेसबुकमा हालेका थिए ।
यसअघि शिक्षक शाहीले फेसबुकमा यसरी श्रद्धान्जली दिएका थिए ।
त्यसपछि उक्त फोटो भाइरल भएको थियो । तर, शिक्षक शाहीले केही समयमै उक्त फोटो फेसबुकबाट हटाएका थिए ।
अस्पताल लैजाँदा लैजाँदै विजयको निधन भएको भन्दै शिक्षक शाहीले त्यतिबेला फेसबुकमा स्टाटस पोष्ट गरेका थिए । त्यही पोष्टलाई आधार मानेर धेरैले हार्दिक श्रद्धान्जली पनि दिएका थिए ।