‘असोज–कातिकमा कोरोनाको तेस्रो लहर आउन सक्छ, दुई लाख संक्रमित थपिन सक्छन्’

by समतल अनलाइन
Shares

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आउँदो असोज–कातिक महिनाभित्रमा कोरोनाको तेस्रो लहर भित्रिन सक्ने भन्दै सतर्कता गराएको छ । मन्त्रालयले आगामी पाँच महिनामा नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या झण्डै दुई लाख पुग्ने अनुमान गरेको छ ।

मन्त्रालयले संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेका प्रयासहरूको संक्षिप्त विवरण तथा आगामी कार्यदिशा प्रस्तुत गर्दै यस्तो प्रक्षेपण गरेको हो ।

मन्त्रालयका सहसचिव गंगा लोहनीले समितिमा जनाएअनुसार हालको स्थिर अवस्थालाई हेर्दा आगामी पाँच महिनामा एक लाख ९३ हजार ८५६ नयाँ संक्रमित थपिने सम्भावना छ ।

तीमध्ये ३८ हजार ७७१ जनालाई अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने र तिनमा पनि ९ हजार ७९३ जनालाई सघन उपचार गर्नुपर्ने सम्भावना औंल्याइएको छ । कोरोनाको सम्भावित तेस्रो लहरमा बालबालिका तथा खोप लगाउन नपाएका व्यक्तिहरु बढी जोखिममा पर्ने सम्भावना रहेको पनि मन्त्रालयले प्रस्ट पारेको छ ।

You may also like

This will close in 0 seconds