नक्कली नागरिकता बनाएको आरोपमा वडा अध्यक्षसहित आठ जना पक्राउ

by समतल अनलाइन
279Shares

नवलपरासी । भारतीय नागरिकलाई नक्कली नागरिकता बनाई दिएको आरोपमा प्रहरीले वडा अध्यक्षसहित ८ जनालाई पक्राउ गरेको छ । भारतीय नागरिक जमिर देवनलाई गैंडाकोट नगरपालिका ६ बस्ने स्थानीय जमिर मिया हुन् भन्दै नक्कली सिफारिसको आधारमा नागरिकता बनाई दिएको आरोपमा वडा अध्यक्ष लक्ष्मीप्रसाद सापकोटासहित ८ जना पक्राउ परेका हुन् ।

उनीहरुलाई नक्कली नागरिकता बनाएको आरोपमा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गैंडाकोटकी प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले जानकारी दिइन् । पक्राउ पर्नेहरुमा अध्यक्ष सापकोटासहित ३३ वर्षीय भारतीय नागरिक जमिर देवन, नक्कली बावु बनेका ५२ वर्षीय सफि अल्ला मिया, वडा सदस्य पवित्रा सापकोटा र चार जना साक्षीहरू रहेको प्रहरी निरीक्षक खनालले बताइन् ।

गैंडाकोट नगरपालिका–६ का वडा अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले २०७७ चैत १ गते पहिचान बिनै वंशजका आधारमा नागरिकता बनाउन झुठो विवरण पेश गरी नक्कली सिफारिस बनाइदिएका थिए । नागरिकता बनाइदिन नक्कली बाबु बनेका ५२ वर्षीय सफि अल्ला मियाको भने अर्घाखाँचीबाट नागरिकता बनेको देखिन्छ खनालले भनिन्, ‘त्यस विषयमा पनि हामीले अनुसन्धान गरिरहेका छौं ।’ पक्राउ परेका आरोपीहरुलाई नागरिकतासम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी निरीक्षक खनालले बताइन् ।

You may also like

This will close in 0 seconds