काठमाडौं, २० असार । उपत्यका प्रशासनले निषेधका अधिकांश प्रावधान खुकुलो बनाएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको निषेधाज्ञालाई खुकुलो बनाउँदै एक साता थप गरेको हो । प्रशासनले यातायातमा लगाइएको जोर–विजोर प्रणाली पनि हटाएको छ । सोमबार राति १२ बजेपछि लागू हुने निषेधाज्ञामा ६ क्षेत्रमा मात्र रोक लगाइएको छ ।
प्रशासनले सबै प्रकारका सभा–सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, स्वीमिङ पुल, खेलस्थललगायतका भिड हुने क्षेत्रमा रोक कायमै राखेको छ । खुला स्थानमा मानिसको भेला, जम्मा हुन, सभा जुलुस र जात्रा महोत्सव गर्न अझै रोक लगाइएको छ ।

पुजारीबाट हुने पूजाबाहेकका धार्मिक गतिविधिमा पनि रोक लगाइएको छ । भौतिक उपस्थितिको पठनपाठनमा अझै रोक लगाइएको छ । स्थानीय ढुवानीका गाडी ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने भनिएको छ ।