रामचन्द्र पौडेल र कृष्ण सिटौलासँग सुजाताको ‘लञ्च मिटिङ’

Shares

काठमाडौं। कांग्रेस नेतृ सुजाता कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई आफ्नो निवास मण्डिखाटार बोलाएर ‘लञ्च मिटिङ’ गरेकी छन् ।

बहालवाला महामन्त्री समेत रहका बीपी पुत्र डा. शशांक कोइरालाले गणेशमान पुत्र प्रकाशमान सिंह र महेन्द्रनारायण निधि पुत्र विमलेन्द्र निधिसँग लञ्च मिटिङ गरेको केही दिनमै गिरिजापुत्री सुजाताले लञ्च मिटिङ गरेकी हुन् । ‘कांग्रेसलाई अबको राष्ट्रिय चुनावमा सबैभन्दा ठूलो पार्टी बनाउन सकिएन भने त्यसले जनताको निराशा नफर्कने बाटोमा पुर्‍याउन सक्छ, किनभने अहिले नै जनतामा चरम निराशा छाइसकेको छ’, कोइरालाले भनिन्, ‘यस्तो बेला नेताहरुले गुट बनाएर मात्र हुँदैन । पार्टीको चुनाव जितेर मात्र हुँदैन आम जनतामा आशाको सञ्चार गर्न सक्नु पर्छ ।’

उनले आफूले रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलासँग त्यही विषयमा कुराकानी गरेको जानकारी बताएकी छिन् । उनले पार्टीलाई आगामी महाधिवेशनबाट बलियो पार्टी बनाउन कसरी सकिन्छ भन्ने छलफलकै लागि नेताद्वयलाई बोलाएर लञ्च मिटिङ गरेको बताइन् । गिरिजाप्रसाद कोइरालापुत्री सुजाताले बोलाएका नेताद्वय पौडेल र सिटौला गिरिजाप्रसाद कोइरालासँगै जोडिएर राजनीतिक करियर बनाएका नेताहरु हुन् ।

बीपीपुत्रले नेतात्रयको अवधारणामा गरेको छलफलमा महेन्द्रनारायण निधि र गणेशमान सिंहपुत्र समावेश भएपनि गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता भने समेटिएकी छैनन् । ‘मेरो उद्देश्य कुनै नेतासँग प्रतिस्पर्धा गर्ने होइन, मेरो उद्देश्य कांग्रेस बलियो बनाउनु पर्छ भन्ने हो, त्यो कसरी पूरा हुन्छ भनेर आज सिनियर नेताहरुसँग छलफल गरेकी छु, अब अन्य नेतासँगै जिल्लातहका नेता कार्यकर्ता साथीहरुसँग पनि छलफल गर्दै जानेछु’, उनले भनिन् ।

कोइराला परिवारमा तीन नेताहरु फरक–फरक दौडमा छन् । नेता डा. शेखर कोइराला देशव्यापी अभियानमा १३ औं महाधिवेशनदेखि नै लागिरहेका छन् । बहालवाला महामन्त्री डा. शशांक कोइरालाले शेरबहादुर देउवालाई विस्थापन गर्न आफू बराबरको प्रतिस्पर्धी अरु हुन नसक्ने भन्दै नेताहरुको समर्थन जुटाउने प्रयास अघि बढाइरहेका छन् । नेतृ सुजाताले गत वैशाखअघि अनामनगरमा सम्पर्क कार्यालय नै खोलेर देशव्यापी अभियान घोषणाको तयारी गरे पनि लकडाउनका कारण बीचमै रोकिएकी थिइन् ।

 

You may also like

skip


This will close in 5 seconds