संघीयता कार्यान्वयनमा काठमाडौंका नेताहरुको मानसिकतामा समस्या छ : पृथ्वीसुब्बा

Shares

पोखरा। गण्डकी प्रदेशमा प्रमुख विपक्षी नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले संघीयता कार्यान्वयनमा काठमाडौंका नेताहरुको मानसिकतामा समस्या रहेको औंल्याएका छन् ।

नेता गुरुङले संघीयतालाई बलियो बनाउन डटेर लाग्दा प्रदेश सरकारलाई सहयोग गर्ने बताएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राखेको विश्वासको मत लिने प्रस्तावमाथि प्रदेशसभामा भएको छलफलमा भाग लिँदै पूर्व मुख्यमन्त्री समेत रहेका गुरुङले संघीयता बलियो भए मात्र लोकतन्त्र बलियो हुने बताए ।

संघीयताको चर्को कुरा गर्ने, तर भूमिका नखेल्ने प्रवृत्ति देखिएको भन्दै गुरुङले शासकीय क्षमता र सिस्टम भत्काउन खोजे डटेर प्रतिवाद गर्ने समेत चेतावनी दिए । ‘भोलि केन्द्रमा तपाईंहरुको सरकार बन्न सक्छ, त्यो बेला पनि संघीयतालाई बलियो बनाउन आवाज उठाउन सक्नुपर्छ’ उनले भने, ‘संघीयतालाई बलियो बनाउन यो सरकार डटेर लाग्छ भने एमाले हरहमेसा सहयोग गर्न तयार छ ।’

सम्बोधनको शुरुमै गुरुङले मुख्यमन्त्री पोखरेलले प्रदेशसभामा भएका ५९ सदस्यमध्ये सबभन्दा परिपक्क र सालिन नेतृत्व भएको बताएका छन् । राजनीतिक इतिहास भएको परिवारबाट आएका पोखरेललाई विश्वासको मत दिन्नँ भन्न गाह्रो भएको उनले बताएका छन् ।
तर पोखरेलले आफू नेतृत्वको सरकारलाई मत मागेको भन्दै उनले भने, ‘मुख्यमन्त्रीप्रति सद्भाव छ, तर जुन अवसरवादी दलहरुको गठबन्धनको रुपमा सरकार बनेको छ, यसलाई समर्थन गर्न सक्दैनौं ।’

You may also like

This will close in 0 seconds