५१ कम्पनीको चलखेलबारे बोर्डको खुलासापछि शेयर बजारमा पहिरो, नेप्से ५२ अंकले घट्यो

by समतल अनलाइन
Shares

काठमाडौं। नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीको शेयरमा चलखेलपूर्ण कारोबार भइरहेको खुलासा गरेको भोलिपल्ट शेयर बजारमा पहिरो गएको छ ।

शेयर बजार परिसूचक नेप्से बुधवार (आज) ५२ अङ्कभन्दा धेरैले ओरालो लागेको छ । माइक्रो फाइनान्स बाहेक अरू सबै समूहको शेयर घटेपछि नेप्से ५२ दशमलव ४१ अङ्कले घटेर दुई हजार नौ सय ६९ दशमलव ७२ विन्दुमा झरेको छ ।

नेपाल धितोपत्र बोर्डले अस्वाभाविक रूपमा शेयरको भाउ बढेको भन्दै मङ्गलवार ५१ वटा कम्पनीको सूची सार्वजनिक गरेपछि त्यसको असर समग्र बजारमा देखिएको छ । आज बैंकिङ समूहको शेयर झन्डै साढे नौ अङ्कले, व्यापारको एक सय तीन अङ्कले, होटलको दुई सय दुई अङ्कले, विकास बैंकको एक सय ९४ अङ्कले र जलविद्युत् समूहको शेयर एक सय ४९ अङ्कले घटेको छ ।

यस्तै फाइनान्स समूहको शेयर एक सय ७२ अङ्कले, जीवन बीमा समूहको चार सय पाँच अङ्कले, निर्जीवन बीमा समूहको चार सय तीन, उत्पादन समूहको दुई सय चार, अन्यको ७०, म्युचल फन्डको १५ र लगानी समूहको शेयर एक सय १० अङ्कले घटेको छ ।

समग्र बजार घटेसँगै आज कारोबार रकममा पनि कमी आएको छ । दुई सय १९ कम्पनीका दुई करोड ८२ लाख कित्ता शेयर १५ अर्ब ४८ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको झण्डै ६१ अर्ब रुपैयाँको कारोबार भएको छ । आज १७ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि सीईडीबी हाइड्रो कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

 

You may also like

This will close in 0 seconds