प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिने वैद्यले उन्मुक्ति पाउँदैनन् : कांग्रेस प्रवक्ता शर्मा

by समतल अनलाइन
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिने आफ्ना पार्टीबाट बागमती प्रदेश सांसद नरोत्तम वैद्यलाई उन्मुक्ति नदिइने नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।

हिजो (शुक्रबार) प्रदेश सभाको बैठकमा सांसद वैद्यले प्रधानमन्त्री ओलीले देश सिध्याउन लागेको भन्दै त्यसलाई रोक्न कोही नाथुराम गोड्से बन्नुपर्ने अन्यथा आफैं बन्ने अभिव्यक्ति दिएका थिए । गोड्से भनेका ती व्यक्ति हुन्, जसले महात्मा गान्धीको हत्या गरेका थिए ।
सडकमा समेत राख्नुपर्ने संयमता यसरी संसदमा गुमाउनेलाई उन्मुक्ति दिन नसकिने प्रवक्ता शर्माले बताएका हुन् ।

आफ्ना धारणा राख्न ६ मिनेटको समय पाएका वैद्यले भने, ‘ओली यसरी आइरहेको छ कि आफ्नो सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरिराखेको छ । यो समयमा खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । त्यसैले मेरो आग्रह, कोही नाथुराम गोड्से आवश्यक पर्यो है अब यो देश बचाउनका लागि ।’ उनले आवश्यक परे आफै पनि गोड्से बन्न तयार रहेको बताएका छन् ।

वैद्यले यस्तो अभिव्यक्ति दिंदा पनि प्रदेशसभामा न कसैले नियमापत्ती जनायो, न त सभामुखले नै रोके । संसदमा आपत्तीजनक वा अमर्यादित अभिव्यक्ति आए रेकर्डबाट हटाउन सभामुखले निर्देशन दिन सक्छन् ।

सांसद वैद्यको अभिव्यक्ति सार्वजनिक हुना साथ प्रवक्ता शर्माले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘आवेगको बोली र व्यवहार ‘भावनात्मक उत्तेजना’ भनेर उन्मुक्ति हुन्न । शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ । तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन ।’ अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै कुरा नभएको कांग्रेस प्रवक्ता शर्माले उल्लेख गरेका छन् । वैद्य काठमाडौं क्षेत्र नं. ४ (क) बाट बाग्मती प्रदेशसभामा कांग्रेसबाट निर्वाचित सांसद हुन् । उनी पशुपति क्षेत्र विकास कोषको पूर्व कोषाध्यक्ष समेत हुन् ।

You may also like

This will close in 0 seconds