बंगाल खाडीबाट छिर्‍यो मनसुन : आज चार प्रदेशमा भारी बर्षाको सम्भावना

by समतल अनलाइन
Shares

काठमाडौं। बंगालको खाडी आसपास विकसित हुने क्रममा रहेको न्यून चापीय क्षेत्रका कारण नेपालको पूर्वी भू–भागबाट मनसुन आगमन शुरु भएको मौसमविदले बताएका छन् । ‘बंगाल खाडीआसपास विकसित हुने क्रममा रहेको न्यून चापीय क्षेत्रका कारण नेपालको पूर्वी भू–भागबाट एक–दुई दिनमा मनसुन आगमन हुने सम्भावना छ,’ मौसमविद गंगा नगरकोटीले भनिन् ।

जल तथा मौसम विज्ञान विभागले यसअघि नै मुलुकमा सरदरभन्दा बढी पानी पर्ने आँकलन सार्वजनिक गरिसकेको छ । यो चेतावनीसँगै थप सावधानी र सचेत हुनुपर्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले विहान देशभर सामान्य बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । प्रदेश–१, वागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिएकी छिन् ।

विभागका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–२, वागमती प्रदेश, लुम्विनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

यसैबीच काठमाडौंमा आज दिउँसो मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसमविद् नगरकोटी बताउँछिन् । उनका अनुसार काठमाडौंको आजको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियससम्म रहने छ ।

विगतको तथ्याङ्क विश्लेषण आधारमा प्राधिकरणले यसपालि मनसुनमा १८ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरेको छ । प्राधिकरणका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट राजेन्द्र शर्माले बाढीबाट १७ लाख र पहिरोबाट १ लाख २० हजार प्रभावित हुने अनुमान गरिएको जानकारी दिए । गत वर्ष १५ लाख प्रभावित हुने अनुमान गरिएको थियो ।

You may also like

This will close in 0 seconds