कैलाली। कोरोना भाइरस संक्रमणबाट सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ । कैलालीका स्थायीबासी मल्लको काठमाडौंमा उपचारका क्रममा निधन भएको उनका भतिजा रुपक मल्लले जानकारी दिएका छन् ।
‘उहाँलाई एक हप्ता पहिले कोरोना संक्रमण देखिएको थियो,’ उनले भने, ‘काठमाडौंमा उपचार गराइरहनु भएको थियो । हिजो राति ११ बजेतिर मृत्यु भयो ।’ निमोनिया र मुटुसम्बन्धी समस्याले ग्रसित मल्लको बिहीबार अन्त्येष्टि गरिने बताइएको छ ।

पूर्व राष्ट्रिय पञ्चायतका सदस्य समेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रहेका उनी कांग्रेसमा प्रवेश गरेका थिए । तत्कालीन प्रधानमन्त्री समेत रहेका मल्ललाई २०७४ सालमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त गरेका थिए । त्यसको करिब दुई वर्षपछि २०७६ सालको कार्तिकमा पदमुक्त गरिएको थियो ।