‘निरंकुश सरकारलाई विश्वासको मत दिने कुनै आधार छैन’
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने कुनै आधार नभएको बताएका छन् । संसद वैठकलाई आज सम्वोधन गर्दै उनले जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने सरकारलाई के आधारमा विश्वासको मत दिने भन्दै प्रश्न गरेका छन् ।
उनले संसदीय लोकतन्त्रलाई बेवास्ता गरेर संसद अधिवेशन टुंग्याएर अध्यादेश ल्याउने निरंकुश सरकारलाई विश्वासको मत दिने कुनै आधार नभएको स्पष्ट पारे । ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनतर्फ ध्यानाकर्षण गराउँदै अध्यक्ष यादवले ओली सरकारले भ्रष्टाचारीलाई नै ढाकछोप गरेको आरोप लगाए ।

यादवले ‘मधेस उत्तर प्रदेशको विहारमा पर्छ’ भन्ने प्रधानमन्त्रीले अहिले मधेसलाई फकाउन खोजेको बताएका छन् । प्रधानमन्त्रीको विश्वासको मत माग्ने प्रस्तावमा संसदमा बोल्दै अध्यक्ष यादवले मधेसी जनता मर्दा दुई–चार वटा आँप खस्यो भन्ने प्रधानमन्त्रीले अहिले तिनै झरेका आँप खुवाउने प्रयत्न गरेको आरोप लगाए ।
‘मधेसका माग राख्दा नेपालमा मधेस छैन यूपी विहारमा छ मधेस भन्ने प्रधानमन्त्रीजी आज मधेसलाई फकाउने प्रयास गर्दै हुनुहुन्छ’, यादवले भने, ‘मधेस आन्दोलनमा मानिहरूको ज्यान जाँदा दुई–चार वटा आँप खसेको बताउने प्रधानमन्त्रीजी अहिले तिनै झरेका आँप मधेसलाई खुवाउन खोज्दै हुनुहुन्छ ?’ उनले देशभित्र मधेस नदेख्ने प्रधानमन्त्रीले अहिले कुन मधेसको माग सम्बोधन गर्ने भन्दै हुुनुहुन्छ भन्दै प्रश्न उठाएका थिए ।