काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सदनले विश्वासको मत नदिने स्पष्ट पारेका छन् ।
आज (सोमबार) प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्ने प्रधानमन्त्री ओलीको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै प्रचण्डले आफूले विघटन गरेको संसद्सँग विश्वासको मत माग्ने नैतिक अधिकार दाबी गरेका हुन् । ‘यो सदनले विश्वासको मत दिँदैन’, उनले भने, ‘लोकतान्त्रिक अधिकारभित्रै प्रधानमन्त्रीजीले विश्वासको मतको अपिललाई सम्मान गर्न चाहन्छु तर सरकार गठन भएयता गरेका कार्य हेर्दा विश्वासको मत प्राप्त गर्ने स्थिति छैन ।’

उनले संविधान मर्म अनुसार नै संसद् पुनःस्थापना भए लगत्तै ओलीलाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेको स्मरण गरे । उनले देशमा कोरोना लागे जस्तै संविधानलाई पनि कोरोना लागेको भनेर व्यङ्ग्य गरेका छन् । उनले राष्ट्रिय समस्या प्रधानमन्त्री ओली कि म भनेर समेत प्रश्न गरे । प्रचण्डले वामगठबन्धनको स्थायीत्व र विकास र समृद्धिको योजना तुहेको धारणा राखेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ऐतिहासिक अवसर प्राप्त भए पनि आफ्नै कारण गुमाएको बताएका छन् ।
‘म राष्ट्रिय समस्या कि तपाईं हो ?’
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय समस्या हो कि आफू नै हो बहस गर्न चुनौती दिएका छन् । सदनमा प्रधानमन्त्री ओलीको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा बोल्दै अध्यक्ष प्रचण्डले त्यस्तो बताएका हुन् । उनले ओलीसँग प्रचण्ड राष्ट्रिय समस्या हो भन्ने प्रमाणित गर्ने तर्क, तथ्य नभएको बताए ।
उनले आफैले विघटन गरेको संसदमा आएर विश्वासको मत माग्ने नैतिक अधिकार नभएको पनि बताए । ‘मैले त सांसदहरुलाई तपाईंहरु जीवितै हुनुहुन्छ भनेको थिएँ, तपाईंसँग यो सदनसँग विश्वासको मत माग्ने नैतिक अधिकार छ र प्रधानमन्त्री जी ?’, उनले प्रश्न गर्दै भने ।