काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत पाउँदिन भन्ने थाहा हुँदाहुँदै मतका लागि प्रस्ताव राखेको भन्दै कटाक्ष गरेका छन् ।
प्रतिनिसभाको सोमबारको बैठकमा बोल्दै सभापति देउवाले ओलीले आफैले थाहा पाउँदा पाउँदै विश्वासको मत लिन लागेको जिकिर गरे । तीन वर्षमा ओली सरकार पूर्ण असफल भएको बताउँदै छातीमा हात राखेर सोच्न आग्रह गरेका छन् ।

उनले कोभिडको महामारीमा रहेका नागरिकलाई वर्तमान सरकारले राज्यले दिनु पर्ने सेवा पनि दिन नसकेको बताए । उनले कोरोना महामारीसँग जुधिरहेका जनताका लागि खोप, अक्सिजनको व्यवस्था गर्नुको सट्टा सरकार खोप खरिदमा कमिसन खान नपाएर खोप नै नल्याएको आरोप लगाए ।
उनले स्वास्थ्य क्षेत्रका विज्ञहरु र विपक्षी दलहरुले दिएको सुझाव नसुनेका कारण कोरोना महामारी नियन्त्रण बाहिर पुगेको बताए । उनले ओली सरकारले संविधानको उल्लंघन गरेको बताए ।