प्रमको गृहनगरमा विपन्नमाथि अत्याचार : सपिङ कम्प्लेक्स बनाउन सुकुम्बासी बस्तीमा डोजर

by समतल अनलाइन
Shares

झापा। प्रधानमन्त्री केपी ओलीको गृहनगर दमकमा सपिङ कम्प्लेक्स बनाउन सुकुम्बासी वस्तीमा डोजर चलाइएको छ । शुक्रबार घर भत्काइएपछि दमक– ७ हाटखोला र पञ्चमुखीमा बसिरहेका २० परिवार सुकुम्बासीको उठीवास लागेको छ । झण्डै चार दशकदेखि बसिरहेका उनीहरूको व्यवस्थापन गर्न नगरपालिकाको चासो छैन ।

सुकुम्बासीलाई घरविहीन बनाएर नगरपालिकाले हाटखोलामा ४० करोड लागतमा साततले ‘सपिङ कम्प्लेक्स’ बनाउँदै छ । त्यसको डिपिआरसमेत तयार भइसकेको दमकका मेयर रोमनाथ ओलीले बताए । पञ्चमुखीमा पनि व्यापारिक भवन बनाउने नगरपालिकाको योजना छ ।

नगरपालिकाले सुकुम्बासीका घर भत्काउने सूचना १५ दिनअघि जारी गरेको थियो । तर, प्रतिकार हुने डरले शुक्रबार बिहान करिब सयजना नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई दुवै बस्तीमा खटाइयो । र, कडा सुरक्षाबीच तीन वटा डोजर लगाएर सुकुम्बासीका घर भत्काइए । ‘वैकल्पिक व्यवस्था हुनुपर्छ’ भनेर आवाज उठाउने बस्तीका ६ जनालाई बिहान पक्राउ गरेर साँझ मात्रै छाडिएको छ ।

हाटखोलामा १५ र पञ्चमुखीमा पाँच घर भत्काइएका छन् । निरीह सुकुम्बासी आफ्ना घर भत्काएको टुलुटुलु हेर्न विवश भए । ३५ वर्षदेखि हाटखोलामा बसिरहेका मिठु तामाङ अन्तिमसम्म घरजग्गा नछाड्ने अडानमा थिए । त्यही भएर छिमेकी र परिवारका सदस्यले सम्झाउँदासमेत उनले घरभित्रको सामान निकालेका थिएनन् । तर, राज्यका सामु उनको केही चलेन । ‘हामीले न्याय कसरी पाउने ? ०४२ सालदेखि यहाँ बसिरहेको छु । अहिले आएर नगरपालिकाले प्रहरी लगाएर लखेट्ने ?’ मिठुले भने, ‘यो सरकार कसका लागि हो ?’

बस्तीमा नगरपालिकाले डोजर चलाउँदै छ भन्ने खबर हाटखोला र पञ्चमुखीमा बिहानै पुगिसकेको थियो । नगरपालिकाले डोजरभन्दा अघिअघि सुरक्षाकर्मी पठायो । उनीहरूले बस्ती नै घेरा हाले । ठूलो संख्यामा सुरक्षाकर्मी अगाडि उभिएपछि सुकुम्बासीले केही बोल्न सकेनन् । घर आफै भत्काउने भन्दै डोजर नलगाइदिन मात्रै उनीहरूले अनुनय गरे । ‘सर ! घर हामी आफै भत्काउँछौँ । डोजर लगाउँदा काठपात बिग्रन्छ । आफै भत्काउँदा अलिअलि भए पनि जोगिन्छ नि !’ सुकुम्बासी लक्ष्मी मगर भन्दै थिइन् । तर, प्रहरीले उनको कुरै सुनेन, बस्तीमा डोजर चल्यो । मक्किएका काठका घर एकैछिनमा खल्र्यामखुर्लुम भए ।

घर भत्काइएका सुकुम्बासीहरू खुला आकाशमुनि पुगेका छन् । कहाँ बस्ने र के खाने भन्ने चिन्ताले उनीहरूलाई सताएको छ । दैनिक ज्यालादारी गरेर गुजारा गर्ने उनीहरू घर भाडा तिर्न सक्ने अवस्थामा पनि छैनन् । ‘नगरपालिकाले केही भनेको छैन । अब कहाँ जाने होला ?’ सीता नेम्वाङले भनिन्, ‘कहीँ केही छैन । ओत लाग्ने घर पनि भत्काइदिए । भाडामा बस्न पैसा छैन ।’

चुनावका वेला बसोवासको व्यवस्था गर्ने आश्वासन बाँडेका नेताहरूले नै आफूहरूलाई सडकमा पु¥याएको सुकुम्बासीहरूको गुनासो छ । ‘चुनावमा हामीलाई नेताले भ¥याङ बनाए । हाम्रा नारा उठाएर भोट दिउँ–दिउँ लाग्ने बनाए,’ सुकुम्बासी गीता नेपालले भक्कानिँदै भनिन्, ‘तर, सत्तामा पुगेपछि पहिलो प्रहार हामीमाथि नै गरे । प्रधानमन्त्री पनि हाम्रै ठाउँको हुनुहुन्छ । फेरि पनि किन आज हामीलाई घरविहीन बनाइयो ? राज्यले किन लखेट्यो ?’ अधिकांश सुकुम्बासी तीन दशकभन्दा बढी समयदेखि यहाँ बसोवास गर्दै आएका छन् ।

प्रहरीले नियन्त्रणमा लिएका ६ जनालाई साँझ ७ बजे मात्रै छाडेको छ । बिहान ७ बजेतिर विमला विक, धनी बराइली र छबकुमारी लिम्बूलाई नियन्त्रणमा लिइएको थियो भने घरहरू भत्काउने क्रममा दिलबहादुर शंकर, राम सम्बाहाम्फे र शर्मिला लिम्बूलाई पनि पक्राउ गरिएको थियो । ‘हामीले आवाज उठाउन पनि नपाउने हो ? विनाकारण किन थुनियो ?’ प्रहरी हिरासतबाट छुटेपछि विमलाले भनिन् । इप्रका दमकका डिएसपी नवराज कार्कीले भने घर भत्काउने काममा अवरोध गरेकाले उनीहरूलाई नियन्त्रणमा लिइएको बताए ।

एक वर्षअघि पनि यहाँका केही घरमा डोजर चलाइएको थियो । त्यतिखेर नगरपालिकाले सुकुम्बासीलाई अन्यत्र व्यवस्थापन गर्ने आश्वासन दिएको थियो । तर, अहिलेसम्म गरेको छैन । ‘मलाई एक वर्षअघि यहाँबाट खेदायो । म यहीं जन्मिएको थिएँ । तर, जग्गा तेरो होइन भनेर घर भत्काई दियो,’ पप्पु चौधरीले भने, ‘म ठेला चलाएर पाँच जनाको परिवार चलाउँदै आएको छु । अहिले भाडामा बस्छु । घरभाडा तिर्न पनि मुस्किल परेको छ ।’

नगरपालिकाले सुकुम्बासीलाई घरविहीन बनाएर हाटखोलामा ४० करोड लागतमा साततले ‘सपिङ कम्प्लेक्स’ बनाउँदै छ । त्यसको डिपिआर पनि तयार भइसकेको मेयर रोमनाथ ओलीले बताए । त्यस्तै, पञ्चमुखीमा पनि व्यापारिक भवन बनाइने उनले बताए । एमालेबाट निर्वाचित दमकका मेयर रोमनाथ नातामा प्रधानमन्त्री ओलीका भतिजा हुन् । उनले अधिकांश निर्णय प्रधानमन्त्री ओलीसँग सल्लाह गरेर गर्ने गर्छन् ।

मेयर ओलीले भने घर भत्काइएकाहरू सुकुम्बासी नभएको दाबी गरे । ‘सुकुम्बासीहरूलाई त पोहोर साल नै नमुनाबस्तीमा लगेर राखेका छौँ । यहाँ त सबै आफ्नो घर भएका छन्, उनीहरू सुकुम्बासी होइनन्,’ उनले भने, ‘अब उनीहरू आ–आफ्नो घर गएर बस्छन् । नगरपालिकाले यहाँ सपिङ कम्प्लेक्स बनाउँछ ।’

राज्यले सुकुम्बासी बनाएका पदमबहादुर !
हाटखोलाका ७१ वर्षीय पदमबहादुर माझी शुक्रबार बिहान बेचैन थिए, अनुहारमा त्रास थियो । उनको घर पनि डोजरले भत्काउँदै थियो । आँखाभरि टिलपिल आँसु बनाएका पदमबहादुरको हातमा हरियो झोला थियो । झोलाभित्रका कागजातका प्रमाण भन्दै थिए– डोजर लगाउँदै गरेको १० कट्ठा १६ धुर जग्गा नगरपालिकाको होइन, पदमबहादुरको हो । कागज देखाउँदै उनी भन्दै थिए, ‘जग्गा मेरै हो, मलाई न्याय दिनुहोस् ।’ तैपनि उनकै अगाडि घरमा डोजर लगाइयो । सडकको पिँढीमा बसेर उनी टुलुटुलु हेरिरहे ।

नगरपालिकाले जग्गा हडपेर आफूलाई सुकुम्बासी बनाएको दाबी पदमबहादुरको छ । ०२१ सालअघिसम्म यो जग्गा उनकी हजुरआमा हरिमाया मझिनीको नाममा थियो । कित्ता नम्बर ६४२ को ११ कट्ठा चार धुर जग्गा उनको नाममा दर्ता थियो । त्यसमध्ये आठ धुर जग्गा उनले ०२९ मा स्थानीय आसबहादुर श्रेष्ठलाई बेचिन् । आसबहादुरले त्यहाँ पक्की घर बनाए । ०३८ मा भूमिसुधार कार्यालय झापाबाट आसबहादुरले उक्त जग्गा आफ्नो नाममा पास गरेको प्रमाण भेटिन्छ । आसबहादुरको निधनपछि जग्गा उनका छोरा जुद्धबहादुरको नाममा आएको छ । जुद्धबहादुरले आठमध्ये चार धुर जग्गा दमक नगरपालिकालाई बेचेका थिए ।

त्यही चार धुर किनेका आधारमा नगरपालिकाले आफ्नो दश कट्ठा १६ धुर पनि हडपेको दाबी छ पदमबहादुरको । ‘सरकारले नै मलाई सुकुम्बासी बनायो । यो जग्गा हाम्रो हो । अहिले नगरपालिकाले आफ्नो भन्दै घरहरू भत्काउँदै छ । हामीले बेचेको आठ धुरलाई आधार मानेर नगरपालिकाले सबै जग्गा नै आफ्नो बनायो,’ आफूसँग भएको कागज देखाउँदै उनले भने, ‘पहिला हाम्रो थिएन भने यी कागज कसरी बने ? ०४५ सालसम्म त मालपोत पनि तिरेकै थिएँ । त्यसपछि पो लिन छाडे त !’ हजुरआमा हरिमायाले आसबहादुरलाई जग्गा बेच्दादेखिका कागजपत्र उनीसँग छन् ।

तर, दमक नगरपालिकाका मेयर ओलीले नक्कली कागजात देखाएर पदमबहादुरले जग्गा लिन खोजेको बताए । ‘त्यो कागजको कुनै अर्थै छैन । कागज कसैले बनाएको हो । आधिकारिकता छैन । जग्गा उसको भएको भए त नगरपालिकाको नाममा हुने थिएन होला नि !’ मेयर ओलीले भने, ‘०३२ सालदेखि नगरपालिकाको नाममा फिल्डबुक भएको जग्गा हो, त्यो ।’ नयाँ पत्रिका दैनिकबाट

You may also like

This will close in 0 seconds