काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए कांग्रेसले संसदमा अविश्वासको प्रस्ताव लैजाने बताएका छन् ।
आज (शनिबार) काठमाडौंमा कांग्रेस नुवाकोटद्वारा आयोजित कार्यक्रममा पौडेलले प्रधानमन्त्री ओलीलाई नहटाए लोकतन्त्र खतरामा रहने भएकाले संसदमा अविश्वासको प्रस्ताव ल्याएर भए पनि हटाउने बताए ।

कांग्रेस केन्द्रीय कार्यसमितिले प्रधानमन्त्री फेर्ने निर्णय गरिसकेको भन्दै उनले प्रधानमन्त्री ओलीले आफै राजीनामा नदिए कांग्रेसको नेतृत्वमा अविश्वासको प्रस्ताव संसदमा लैजाने उल्लेख गरे ।
‘उहाँले राजीनामा दिनु हुन्न भने अविश्वास प्रस्ताव राखेर हामी हटाउछौं’, पौडेलले भने । सरकार बाहिर रहेका, प्रतिगमनविरुद्ध संघर्ष गरेका र संसद् पुनः स्थापनाका लागि आवाज उठाएका दलका बीचमा सहमति गरेर प्रधानमन्त्री ओलीलाई हटाउन संसदमा अविश्वासको प्रस्ताव लैजाने उनको भनाइ थियो ।