नेकपा पुनरावलोकनका लागि आज सर्वोच्च जाँदै माओवादी केन्द्र

Shares

काठमाडौ। नेकपा नाम विवादमा सर्वोच्च अदालतले दिएको फैसला ‘विचित्र’ प्रकारको भएको बताउँदै आएको नेकपा माओवादी केन्द्र आज (मंगलबार) पुनरावलोकनका लागि सर्वोच्च अदालत जाने भएको छ ।

नेकपा नाम विवादमा फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्र आज ११ बजे सर्वोच्च अदालत जाने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ ।
नेकपा विवादमा सर्वोच्चको फैसलाप्रति असन्तुष्ट माओवादी केन्द्रले फैसला पुनरावलोकनका लागि सर्वोच्च जाने निर्णय गरेको थियो ।

कानुन व्यवसायीहरुको सुझावअनुसार माओवादी केन्द्र सर्वोच्चको फैसला पुनरावलोकनमा जाने निष्कर्षमा पुगेको हो । फैसला लगत्तै बसेको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमार्फत निर्णय नै गरेर पुनरावलोकनमा जाने बताएको माओवादी केन्द्र फैसला आएको तीन साता बित्दा समेत जान सकेको थिएन ।
पुनरावलोकनको के छ व्यवस्था ?
फैसलाप्रति चित्त नबुझे अन्तिम आदेश वा फैसला आएको मितिले ६० दिनभित्र पुनरावलोकनमा जान सकिने कानुनी व्यवस्था छ । नेकपा विवादमा चैत १२ गते फैसला आएको १९ दिन बितिसकेको छ ।

मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा २२० अनुसार मुद्दा पुनरावलोकनमा जान सकिने व्यवस्था गरेको छ । सम्बन्धित पक्षले आदेश वा फैसला भएको ६० दिनभित्र निवेदन दिन सक्नेछ भनिएको छ ।

नेकपा विवादमा ऋषि कट्टेलले दायर रिटमा चार पक्षलाई विपक्षी बनाएका थिए । जसमा निर्वाचन आयोग, नेपाल कम्युनिस्ट पार्टी (नेकपा), अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विपक्षी हुन् ।

वरिष्ठ अधिवक्ता समेत रहेका राष्ट्रिय सभा सांसद रामनारायण बिडारी नेपालको राजनीतिमै उथलपुथल ल्याउने फैसला पुनरावलोकन हुने आधारहरू धेरै रहेको बताउँछन् । ‘डीआइजी रञ्जन कोइराला, लोकमान सिंह कार्की, प्रेरणा राज्य लक्ष्मीदेवी शाहका मुद्दा पुनरावलोकन भएका छन् भने यत्रो राजनीतिक दल तोडफोड भएको र एकता भङ्ग भएको कुरामा, नेपालको राजनीति नै उथलपुथल भएको र मागदाबीभन्दा बढी लेखेको कुरा पुनरावलोकन हुन्छ भन्नेमा हामी ढुक्क छौ’, बिडारीको भनाइ छ । सर्वोच्चको फैसला पनि नेपालको राजनीति नयाँ मोडमा पुगेको छ ।

 

You may also like

This will close in 0 seconds