झा दम्पती हत्या प्रकरण :शव लुकाएको बाकस र कपडासहित पक्राउ परेका तीन जनालाई गरियो सार्वजनिक

by समतल अनलाइन
Shares

महोत्तरी। महोत्तरीको पिपरा गाउँपालिकास्थित सोहडवाका झा दम्पतीको अपहरण गरी हत्या गरेको आरोपमा पक्राउ परेका थप तीन जनालाई प्रहरीले आज (आइतबार) सार्वजनिक गरेको छ । आइतबार जिल्ला प्रहरी कार्यालय महोत्तरीले पत्रकार सम्मेलन गरी स्थानीय तारादेवी झासहित उनका दुई छोरा कैलाश र विकास झालाई सार्वजनिक गरेको हो ।

पिपरा गाउँपालिका–५ स्थित सहोडवा बस्ने ६६ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीतादेवी झाको हत्यामा संलग्न रहेको आरोपमा शुक्रबार नै महोत्तरी प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

उनीहरु झा दम्पतीका नातेदार नै रहेको प्रहरीले जानकारी दिएको छ । आरोपित कैलाश झाको घरमा झा दम्पतीको जलेको कपडा, शव लुकाइएको र जलाएको बाकस, जलाएका दाउरा लगायतका सामग्रीहरु समेत बरामद भएको प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । हत्यामा उनीहरुको संलग्नता देखिएको प्रहरीको दाबी छ ।

झा दम्पतीको अपहरणपछि हत्या गरेको आरोपमा प्रहरीले एक साताअघि छिमेकी रामबाबु यादव, उनका छोराहरू सुरेन्द्र र राजेन्द्र यादव, भारत बिहार मधुवनी घर भइ महोत्तरीको बनौलीमा बस्दै आएका हरेन्द्र ठाकुरलाई पक्राउ गरेको थियो । फागुन १० गते राति ओछ्यानबाटै बेपत्ता भएका झा दम्पतीको शव एक महिनापछि गाडिएको अवस्थामा पिपरा गाउँपालिका– २ स्थित अतरार जाने बाटोमा फेला परेको थियो ।

You may also like

This will close in 0 seconds