काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगै आफूहरुलाई स्पष्टीकरण सोध्ने कुनै अधिकार नभएको बताएका छन् ।
आज (मंगलबार) नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित आफ्नो समूह निकट अनेरास्ववियूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष रावलले पार्टीको विधान र संविधान मिच्दै हिंडेको, एमसीसी लगायतका विषयमा अध्यक्ष ओलीलाई आफूहरुले स्पष्टीकरण सोध्ने बताए ।
‘ओली आफैले पार्टीको विधान र संविधान मिच्नु भएको छ, उहाँले अझै हामीलाई स्पष्टीकरण सोध्ने रे !’ उपाध्यक्ष रावलले भने, ‘संविधान र पार्टीको विधान विपरीत कदम चालेकोमा उहाँलाई हामी नै प्रश्न गर्छौं ।’
उनले अध्यक्ष ओलीले नवौँ महाधिवेशनबाट बनेको विधान कुल्चेर महाधिवेशन आयोजक कमिटी गठन गर्ने, केन्द्रीय समिति थप्ने र त्यही केन्द्रीय समितिले आफूहरुमाथि कारबाही गर्ने काम गरेर ओलीले नै पार्टी अनुशासनको उल्लंघन गरेको बताए ।
उनले भने, ‘विधान कुल्चेर हामीलाई हटाएको रे, अनि तपाईंहरुले अनुशासन मान्नु भएन, बैठकमा आउनु भएन भनेर स्पष्टीकरण सोध्न तपाईंलाई लाज लाग्दैन ?’