काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी शर्मा ओली नेतृत्वको सरकार टिकाउने नटिकाउने भन्ने विषयमा आफूसँग कसैले छलफल नगरेको बताएका छन् ।
आज (बुधबार) नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै नेता नेपालले नयाँ सरकार समीकरणका विषयमा आफूलाई कसैले प्रस्ताव नगरेको बताएका हुन् । ‘सरकार टिकाउने नटिकाउने भनेर अहिले मसँग कसैले कुरा गरेको छैन,’ उनले भने, ‘त्यस्तो कुरा आएपछि कुरा गरौंला ।’

संसद् भवनमा बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै वरिष्ठ नेता नेपालले सरकारको निरन्तरताको विषयमा छलफल गर्नका लागि सरकारका मानिसहरु आफूसँग कुरै गर्न नआएको बताएका हुन् । उनले भने, ‘मलाई सरकारका मान्छे भन्छन् तर मलाई नै थाहा छैन ।’
उनले पार्टीभित्रको विमतिलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा विस्तृत रुपमा छलफल गर्ने बताए । ‘छलफल, बहस र विवादबाटै हामी कहिल्यै पनि डराउँदैनौं । यो राजनीतिज्ञहरुको विशेषता पनि हो,’ उनले भने । एमाले केन्द्रीय कमिटी बैठक बोलाउनेबारे आफूलाई केही थाहा नभएको उनको भनाइ थियो ।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि साविकको नेकपा दुई खेमा (ओली समूह र प्रचण्ड–नेपाल समूह) मा विभाजित भएको थियो । तर, फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीचको एकताबाट बनेको नेकपालाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय खारेज गरिदिएपछि यी दुवै पार्टीहरु अलग भएका छन् ।