काठमाडौं। संसद भङ्ग गरिएकोमा चर्को आलोचना गर्दै आएका जनता सामाजवादी पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सर्वोच्च अदालतले संसदलाई पुर्नस्थापना गर्ने फैसलालाई अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको बताएका छन् ।
सर्वोच्च अदालतले सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनको निर्णय उल्ट्याई दिएको हो ।
आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सम्मिलित संवैधानिक इजलासले पुस ५ को सरकारी निर्णय उल्ट्याउँदै संसद् पुनर्स्थापना गर्ने फैसला सुनाएको हो । प्रधानन्यायाधीशसहित पाँच जना न्यायाधीश रहेको संवैधानिक इजलासले प्रतिनिधि पुनर्स्थापना गर्ने निर्णय गरेको हो ।

फैसलामा १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश समेत दिइएको छ । उक्त निर्णय उपर टिप्पणी गर्दै भारतमा उपचाररत् भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘कस्तो सुखद संयोग ! अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खदैगर्दा मनचाहिं देशभित्र सर्वोच्चको फैसलातिर थियो ! हिन्दू मिथकको भष्मासुरलाई बिष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो !’