देउवाले भने, ‘हाम्रा नेता चुनाव हुँदैन भन्छन्, हद हुन्छ नि एउटा, भयो भने नि ?’

by समतल अनलाइन
Shares

‘संविधान मैले मिचेको छु, ओलीले मिचेका छन्, सबैले मिचेका छन्’
नुवाकोट। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमाथि विश्वास गर्न नेताहरुलाई आग्रह गरेका छन् ।

नुवाकोटस्थित पार्टी कार्यालय भवन उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै सभापति देउवाले सर्वोच्च अदालतले संसद पुनस्र्थापना र चुनावमध्ये जसको पक्षमा फैसला गरे पनि कांग्रेसलाई मञ्जुर रहेको बताए । संसद विघटनको मुद्दा अदालतमा विचाराधीन रहेको भन्दै उनले भने, ‘पुनर्स्थापनाको निर्णय गर्छ भने सहर्ष स्वीकार गरौं । चुनाव भन्छ भन्यो भने चुनावमा जाऊँ ।’

नेकपाको दुबै समूहले चुनावको तयारी गरिसकेको र चुनाव चिन्ह्का लागि लडिरहेको उनले बताए । ‘हाम्रा नेताहरु चुनाव हुँदै हुँदैन भन्छन्’ उनले भने, हद हुन्छ नि एउटा । भयो भने नि ? त्यसको तयारी गर्नु पर्दैन ? चुनावबाट भाग्ने ?’

संविधानअनुसार प्रतिनिधिसभा विघटन भएको ६ महिनाभित्र चुनाव गरिसक्नुपर्ने र नगराए सबै मिलेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई निकाल्ने समेत देउवाले बताए । उनले थपे, ‘संसद पुनर्स्थापना भएन भने चुनाव भयो, भयो ।’

अहिले नभए पनि डेढ वर्षपछि चुनाव हुने भन्दै उनले चुनावबाट नडराउन नेताहरुलाई आग्रह गरे । ‘कि राजनीति छोड्नु पर्‍यो कि चुनावमा जान तयार हुनुपर्‍यो’ उनले भने, ‘चुनावका लागि तयार हुनुस्, डेढ वर्षपछि होस् कि अहिले होस् ।’

सभापति देउवाले नेपालमा सबैले संविधान मिचेको पनि बताएका छन् । प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिचेको आरोप कांग्रेसकै नेताहरुले लगाइरहेका बेला देउवाले भने नेपालमा संविधान नमिच्ने कोही नभएको बताएका छन् । ‘यो संविधान मैले पनि मिचेको छु’ ओलीले पनि मिचेका छन् भन्छन’, देउवाले भने, सबैले मिचेका छन्, नेपालमा (संविधान) नमिच्ने कोही छैनन् ।’

पार्टी केन्द्रीय सदस्य गगन थापा समेत सहभागी कार्यक्रममा बोल्दै देउवाले संसद पुनर्स्थापनाको पक्षमा उभिएका नेताहरुलाई प्रचण्डविरुद्ध बोल्न डराएको भन्दै व्यंग्य गरेका छन् ।
देउवाले आफूले कम्युनिष्ट पार्टीको शासन आएपछि रुन पनि पाइने छैन भनेको स्मरण गरे । ‘आज बल्ल साथीहरु ओलीको खिलाफमा बोल्न सक्ने भएछन्’ उनले थपे, ‘प्रचण्डको खिलाफमा बोल्न डराउँछन् अझै यहाँ (मञ्चतिर देखाउँदै) ।’

उनले अघि भने, ‘प्रचण्डको नाम नै लिन सक्दैनन् विचराहरु !’ आफूले भने कांग्रेसलाई प्रचण्ड र ओली सबैको खिलाफमा बोल्न सक्ने पार्टी बनाउन चाहेको देउवाले बताए ।

 

You may also like

This will close in 0 seconds