काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता घनश्याम भुसालले घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको पतन तीब्ररुपमा शुरु भएको बताएका छन् ।
नेकपाकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीको पक्राउले ओली तीब्र गतिमा ओरालो लागेको देखिएको नेता भुसालले बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत नेकपा स्थायी कमिटी सदस्य भुसालले भनेका छन्, ‘रामकुमारी झाँक्री पक्राउ परेको ठाँउमा उभिएर हेर्दा प्रधानमन्त्री केपी ओली तीब्र गतिमा ओरालो लागेको देखिन्छ ।’

प्रहरीले झाँक्रीलाई आज (बिहीबार) बिहान शंखमुलस्थित उनकै निवासबाट पक्राउ गरी अपराध महाशाखा बानेश्वरमा राखेको छ । झाँक्रीलाई राज्यविरुद्धको कसुरको दफा ५८ अनुसार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनले गोरखाको आमसभामा गरेको सम्वोधनले राष्ट्रपति विद्यादेवी भण्डारीको अपमान भएको आरोप लगाइएको छ । अहिले झाँक्रीको पक्राउलाई लिएर सम्पूर्ण राजनीतिक दल, नागरिक समाजका अगुवा र सर्वसाधरणले समेत सरकारको आलोचना गरिरहेका छन् ।