‘तानाशाह जति बलियो ठानिए पनि छिट्टै पतन हुन्छ’
संखुवासभा। जनता समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसको मुल नेतृत्वको अनिच्छाकै कारण प्रतिगमनविरुद्ध संयुक्त आन्दोलनमा जान ढिलाइ भइरहेको बताएका छन् ।
संखुवासभाको खाँदबारीमा आफ्नो पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले कांग्रेसको मूल नेतृत्वको अनिच्छा नै संयुक्त आन्दोलनको बाधक बनेको आरोप लगाए ।
डा. भट्टराईले प्रतिनिधिसभा अहिले पनि जीवित रहेको बताएका छन् । उनले ओलीको असंवैधानिक कदमविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ढुलमुले चरित्र देखाइरहेको बताए ।

नेकपा विभाजनको औपचारिक टुंगो नलाग्नु र कांग्रेस पर्ख र हेरको अवस्थामा रहेकाले दलहरुबीच साझा आन्दोलन हुन नसकेको उनले बताएका छन् । राज्यका सबै अंग नियन्त्रणमा लिएर दुई तिहाई मतप्राप्त प्रधानमन्त्रीले प्रतिनिधिसभा भङ्ग गर्नु चरम निरंकुशता र तानाशाही प्रवृत्ति भएको पनि उनको भनाइ थियो ।
यस्ता शासक जतिसुकै बलिया ठानिए पनि छिट्टै पतन हुने र अरुलाई पनि सर्वनाश पार्ने उनले बताए । उनले प्रतिगमन नटिक्ने भन्दै नागरिकको अधिकार नमिच्न र संविधानमाथि आक्रमण नगर्न चेतावनी दिए ।
भट्टराईले प्रतिनिधिसभा पुनस्र्थापना बिना कुनै हालतमा निर्वाचन नहुने भएकाले ओलीले सत्ता लम्ब्याउन चुनावी तयारीको नाटक गरिरहेको आरोप लगाए । शुक्रबार हुने विरोध सभालाई सम्बोधन गर्न पत्नी हिसिला यमीसहित नेता भट्टराई संखुवासभाको खाँदबारी आएका हुन् ।