विराटनगर । विराटनगरका कुख्यात मिटरब्याजी ‘मन्टु’ भनेर चिनिने मिटरब्याजी रौनियारलाई कारागार चलान भएका छन् । चक्रवर्ती मिटरब्याज लगानी गरेर सर्वसाधारण ठगेको आरोपमा पक्राउ परेका विराटनगर–९ घोघापुल चोकका सञ्जय रौनियारलाई सोमबार पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।
न्यायाधीश ईश्वर पराजुलीको इजलासले अन्य चार वटा मुद्दामा पाँच लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको स्रेष्तेदार दाहालले जानकारी दिए।

उनीविरूद्ध ठगी तथा आपराधिक लाभ लिएको कसूरका १७ वटा मुद्दा दायर भएका थिए। तीमध्ये १३ वटा मुद्दामा अनुसन्धान गर्नु बाँकी रहेकाे भन्दै अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको हो। ‘मिटरब्याज’ धन्दा चलाउँदै आएका ४५ वर्षीय रौनियारलाई प्रहरीले मंसिर २९ गते साँझ घरैबाट पक्राउ गरेको थियो।
जिल्ला सरकारी वकिलको कार्यालयले रौनियारले एक करोड १० लाख रुपैयाँ ठगी र आपराधिक लाभ लिएको मुद्दा अदालतमा बुझाएको थियो।
प्रहरीका अनुसार उनले ९२ लाख ८८ हजार रूपैयाँ ऋण दिएर दुई करोड ७० लाख ३१ हजार रुपैयाँ असुली गरेका हुन् । उनले अझै एक करोड ३८ लाख ९८ हजार ४०० रुपैयाँ थप रकम दावी गरेका छन् ।
मन्टुले विभिन्न व्यक्तिका ६० कित्ता जग्गाको तमसुक गरी ५० करोड भन्दा बढी रकम असुलेको प्रहरी अनुसन्धानबाट खुलेको छ । जसमा ४० कित्ता सञ्जयको नाममा देखिएको छ भने उनकी श्रीमती ज्योतिको नाममा २० कित्ता जग्गा राजीनामा पास गराइसकेको खुलेको छ ।
मन्टुले मिटरब्याजमा ऋण दिएपछि गाउँ–गाउँमा एजेन्ट परिचालन गर्ने गरेको पीडितहरूले बताएका छन् । पीडितका अनुसार मिटरब्याजमा लगानी गरेको पैसा उठान एजेन्ट गाउँमा खटाउने गरेको थिए ।