जनकपुर । खोलामा भइरहेको अवैध उत्खनन रोक्न खोज्दा २४ वर्षीय दिलीप महतो मारिएको एक वर्ष पूरा भएको छ । आमा चन्द्रकलादेवी छोरो सम्झिएर अझै भक्कानिन्छिन् ।
‘चौबीसै घण्टा मन भइरहन्छ कि खोलामा गएको मेरो छोरो कति खेर फर्केर घर आउँछ’, चन्द्रकलाले भनिन्, ‘फूल जस्तो बेटालाई दुस्मनहरूले पेचकसले घोचेर घाइते बनाई टिपरले किचेर ज्यान लिए । मेरो छोरोलाई पापीहरूले हात लगायो भनेर थाहा पाएको भए आधी प्राणमा पनि बचाएर ल्याउँथें ।’

धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका दिलीप भनिने ओमप्रकाशको गत वर्ष २५ पुसमा क्रसरका माफियाले ज्यान लिएका थिए । त्यसमा चुरियामाई बालुवा प्रशोधन उद्योग श्रीपुरका क्रसरधनी विपिन महतोको समूहको संलग्नता रहेको प्रहरी अनुसन्धानले देखाएको थियो ।
घटनाको दिन बिहानै घरनजिकै औरही खोलामा क्रसर डनले अवैध रूपमा बालुवा–ढुंगा निकालिरहेका थिए । टिपर र लोडर चलेको आवाज सुनेर दिलीप त्यसलाई रोक्न साथी रोशन यादवसँग खोलामा गएका थिए । रोक्ने क्रममा क्रसरधनी विपिनसँग विवाद भयो । त्यसपछि विपिनको समूहको संलग्नतामा दिलीप मारिएको जनाइएको थियो । त्यसपछि प्रदेश २ सरकारले पुस २८ गते प्रदेशका सबै क्रसर बन्द गरायो ।
न्याय मागेका दिलीपको परिवारलाई प्रदेश सरकारले राहतस्वरूप ५ लाखको चेक थमायो । किटानी जाहेरी परेका केही आरोपितलाई अदालतले धरौटीमा छाड्यो । उनीहरू गाउँमा खुलेआम रहेकाले पीडित परिवार त्रासमा छ । ‘न्यायको आस गरेका हामीलाई थप अघि बढे बमले उडाइदिने धम्की आइरहेको छ’, दिलीपका बुवा रामजीवनले भने ।
धनुषा जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले यो मुद्दामा २९ माघ ०७६ मा आदेश गरेको थियो । उक्त आदेशपछि क्रसरधनी विपिन, उनका क्रसरमा काम गर्ने लोडर चालक महोत्तरीको बर्दिबास–१२ बिजलपुरास्थित चल्की टोलका जितेन्द्रकुमार महतो र बर्दिबास–९ पशुपतिनगरका टिपर चालक मुनिन्द्र महतो सिन्धुली करागारमा छन् ।
रामजीवनले धरौटीमा छाडिएकाहरू गाउँमा खुलेआम डुलिरहेको बताए । ‘न्यायका लागि प्रहरी र अदालतमा धाउँदा–धाउँदा पैताला खिइसक्यो’, उनले भने, ‘सात जनाउपर किटानीजाहेरी दिएको थिएँ । तीन जना मात्रै जेलमा छन् । चार जनालाई अदालतले धरौटीमा छाडेको छ। धरौटीमा छुटेकाहरू अहिले मुद्दा अगाडि बढाइस् भने बमले उडाइदिने धम्की दिइरहेका छन् ।’
तीन जना जनही २५ हजार धरौटीमा छुटेका थिए । त्यसरी छुट्नेमा दिलीपका साथी रोशन, टिपरका सहचालक सत्यनारायण यादव र क्रसरका मिस्त्री शत्रुधन यादव छन् । दिलीप मारिएका बेला तीनै जना घटनास्थलमा थिए । ‘तीनै जनाले रोकेको भए मेरो छोरो अहिले बाँचेको हुन्थ्यो’, रामजीवनले भने । क्रसरधनी विपिनका दाजु विनोदलाई पनि पीडित पक्षले दिलीपको हत्या घटनाको योजनाकार भन्दै किटानी जाहेरी दिएको थियो । उनलाई प्रहरीले छाडेको भन्दै पीडित परिवारले गुनासो गरेको छ ।
धरौटीमा छुटेकाहरूलाई पक्राउ गर्नुपर्ने माग गर्दै रामजीवनले ४ फागुन २०७६ मा उच्च अदालत जनकपुरधाममा पुनरावेदन गरेका थिए । उच्चले जिल्ला अदालतकै आदेशलाई सदर गरिदिएको उनले बताए। ‘अब सर्वोच्चमा गएर अपराधीविरुद्धको लडाइँ लड्छु’, उनले भने । ६ बहिनी र दुई भाइमा दिलीप जेठो थिए । परिवारजनले ऋण काढेर उनलाई भारतमा इन्जिनियरिङ पढाइरहेका थिए । कमाएर तिर्ने आँट, भरोसा थियो । तर, दिलीपको हत्यापछि परिवार शोकमा त प¥यो नै ऋणको बोझ थपिएको छ ।
दिलीपको घरभन्दा पूर्वतर्फ औरही खोला पर्छ । जहाँ क्रसरवालाले जथाभावी बालुवा–ढुंगा उत्खनन गरेर दुःख दिइरहेका छन् । दोेहनले वर्षात्मा बाढीले धार फेर्छ। उब्जाउ जग्गा स्वाट्टै बग्छ । हिउँदमा खानेपानीको मुहान सुक्छ । अवैध उत्खनन रोकेर यो समस्याबाट गाउँलेलाई छुटकारा दिलाउन चाहन्थे दिलीप। तर, क्रसर माफिया चुरेको भावर क्षेत्रको दोहन गरेर करोडपति बन्न चाहन्थे । दिलीपको बोलीमा गाउँले साथ दिन्थे । उनको बोलीले क्रसरवालालाई अवरोध हुन्थ्यो । त्यो अवरोधले क्रसर डन र खोला ठेकेदारलाई पचेन ।
प्राकृतिक स्रोतसाधनको संरक्षण गर्ने क्रममा दिलीपको ज्यान गएकाले उनलाई पर्यावरण सहिद घोषणा गर्न परिवारजनले सरकार समक्ष माग गरेका छन् । उनको नामबाट प्रतिष्ठान गठन गरी यो माग अघि बढाइएको हो । अन्नपूर्ण पोष्ट दैनिकबाट