काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउनु पर्ने बताएका छन् ।पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै राष्ट्रपति भण्डारीले संविधान र लोकतन्त्रमाथि गम्भीर खेलवाड गरिरहेको आरोप लगाएका छन् ।
तत्काल संसद अधिवेशन बोलाएर महाअभियोग लगाउनु पर्ने उनको मत छ । प्रधानमन्त्री केपी ओली र राष्ट्रपति भण्डारीको कदम संविधान विरोधी रहेकाले वक्तव्यवाजी वा गनगन मात्रै नगरेर महाअभियोग प्रक्रियामा जानुपर्ने उनको भनाई छ । सरकारले हिजो संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि यसको चौतर्फी विरोध भईरहेको छ ।

डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘महाभारतका दुर्योधनहरूले द्रौपदीको चीरहरण गरिरहँदा भीष्महरू मौन बसेझैं ओलीले संविधान र लोकतन्त्रको हुर्मत लिइरहँदा सत्ता पक्षभित्रका र विपक्षका नेताहरू बैठक–वक्तव्यवाजी र गनगन गरेर मात्र बस्ने हो कि बेलैमा प्रम र राप्रपाका थप धुन्धुकारी हर्कत रोक्न संसद अधिवेशन र महाभियोगतर्फ लाग्ने हो ?’