बुटवल। बुटवलमा थप दुई जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ।बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत् दुई जनामध्ये एक जनाको शुक्रबार साँझ र अर्को एक जनाको शनिबार बिहान मृत्यु भएको हो।अस्पतालका कोरोना फोकल पर्सन डाक्टर सुदर्शन थापाका अनुसार रुपन्देहीको शुद्धोधन गाउँपालिका ६ का ५७ वर्षीय पुरूषको शुक्रबार साँझ मृत्यु भएको हो।
त्यस्तै, बुटवल १० का ७९ वर्षीय पुरूष पनि शनिबार बिहान सबा सात बजे मृत्यु भएको थापाले पुष्टि गरे।शुद्धोधनका पुरूषलाई गत असोज १९ गते स्वास्थ्यमा समस्या आएपछि पिसिआर जाँच गराउँदा कोरोना पोजिटिभ देखिएको थियो।उनी सोही दिन नै कोरोना अस्पतालमा भर्ना भएकोमा दुई दिनसम्म भेन्टिलेटरमा राखी उपचार गरिएको थियो।

त्यस्तै, असोज १० गते कोरोना पुष्टि भएका बुटवल १० का पुरूषलाई १३ दिनसम्म भेन्टिलेटरमा राखी उपचार गरिएको थियो।उनलाई निमोनिया र मिर्गौलामा समस्या देखिएको डा. थापाले बताए। योसँगै बुटवल कोरोना अस्पतालमा मृत्यु हुनेको संख्या २८ पुगेको छ।रुपन्देहीका भने मृत्यु हुने संक्रमितको संख्या ३५ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।