कोभिडबाट विश्वभर मृत्युदर ४.६५ प्रतिशत, एसियामा २.४८ प्रतिशत र नेपालमा ०.९५ प्रतिशत

by समतल अनलाइन
Shares

नेपालमा २० हजार २४२ निको हुँदा एक सय ९५ को मृत्यु
काठमाडौं। कोभिड–१९ बाट संक्रमितको मृत्युदर विश्व र एसियाको तुलनामा नेपालमा कम छ । त्यति मात्र होइन, छिमेकी भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशभन्दा नेपालमा मृत्युदर कम छ ।

विश्वभर दुई करोड ४७ लाख ९७ हजारजना संक्रमित हुँदा एक करोड ७२ लाख निको भएका छन् । निको वा मृत्यु भएर विश्वमा एक करोड ८० लाख ‘केस क्लोज्ड’ भएका छन् । योमध्ये ४.६५ प्रतिशतको मृत्यु भएको छ ।

एसियामा ६७ लाख ८३ हजार संक्रमित भएकोमा एक लाख ३८ हजारको मृत्यु भएको छ । निको भएका वा मृत्यु भएकालाई जोडेर ‘क्लोज’ भएका केसमध्ये एसियामा मृत्युदर २.४८ प्रतिशत छ ।

दक्षिण एसियामा सबैभन्दा बढी मृत्युदर अफगानिस्तानमा छ । त्यहाँ ३८ हजार संक्रमितमध्ये २९ हजार निको हुँदा १४ सय अर्थात् ४.६ प्रतिशतको मृत्यु भएको छ । एसियामा पहिलो र विश्वमा तेस्रो भारतमा संक्रमितको संख्या ३४ लाख ६१ हजार पुगेको छ ।

भारतमा अहिलेसम्म ६२ हजार ७१३ अर्थात् २.३१ प्रतिशतको मृत्यु भएको छ । पाकिस्तानमा मृत्युदर २.१९ प्रतिशत र बंगलादेशमा २.०७ प्रतिशत छ । दक्षिण एसियामा पाँचौं नम्बरमा छ । नेपालमा २० हजार ४३७ ‘केस क्लोज्ड’ हुँदा मृत्युदर ०.९५ प्रतिशत छ ।

दक्षिण एसियामा नेपालभन्दा माल्दिभ्स, श्रीलंका र भुटानको स्थिति सन्तोषजनक छ । माल्दिभ्समा मृत्युदर ०.५७ प्रतिशत र श्रीलंकामा ०.४२ प्रतिशत छ । भुटानमा अहिलेसम्म एक सय ८४ जना संक्रमित भए पनि एकजनाको पनि मृत्यु भएको अभिलेख छैन ।

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३६ हजार चार सय ५६ पुगेको छ । तीमध्ये आधाभन्दा धेरै कामकाजी उमेर समूहका युवा छन् । २१ देखि ४० वर्ष उमेरसमूहका युवाधेरै संक्रमित भए पनि संक्रमणपछिको मृत्युदर भने ८० वर्षभन्दा बढीका ज्येष्ठ नागरिकको बढी छ ।

अहिलेसम्म संक्रमितमध्ये ८० वर्षमाथिका एक सय आठ जना छन्  । उनीहरूमध्ये ११ जना अर्थात १० प्रतिशतको मृत्यु भएको छ । त्यस्तै ६० देखि ८० वर्षसम्मका एक हजार तीन ६५ जना संक्रमित भएका छन् । यो उमेरसमूहका संक्रमिमध्ये ६६ जना अर्थात ५ प्रतिशतको मृत्यु भएको छ ।

त्यस्तै ४० देखि ६० वर्ष उमेरसमूहका सात हजार आठ जना संक्रमित छन् । उनीहरूमध्ये ८० जना अर्थात १. १३ प्रतिशतको मृत्यु भएको छ । सबैभन्दा बढी संक्रमित २० देखि ४० वर्ष उमेरका छन् । यो समूहमा २२ हजार एक सय तीन संक्रमित छन्, उनीहरूमध्ये २९ जनाको मृत्यु भएको छ  ।

१० देखि २० वर्ष उमेरसमूहका संक्रमित पनि चार हजार तीन सय २९ छन् । यो समूहमा मृत्युदर शुन्य दशमलव ११ प्रतिशत छ । त्यस्तै १० वर्षभन्दा मुनिका एक हजार तीन सय ५७ बालबालिका संक्रमित भएकोमा चार जना अर्थात शून्य दशमलव २९ प्रतिशतको मृत्यु भएको छ ।

यो तथ्याङकअनुसार सामाजिक व्यवहार र अन्तरक्रियामा युवा नै बढी सक्रिय हुने भएकाले संक्रमण पनि उनीहरूमै बढी देखिएको विज्ञहरूको भनाइ छ । तर, रोग प्रतिरोधी क्षमता बढी भएकोले यो समूहको मृत्युदर भने कमि छ ।

तर, कामकाजी उमेरका युवा बढी संक्रमित भएकोले मृत्युको संख्या पनि उनीहरूको नै धेरै छ । अहिलेसम्म कुल एक सय ९५ जनाको मृत्यु भएकोमा सबैभन्दा धेरै ४० देखि ६० वर्ष उमेरसमूहका छन् । यो उमेरसमूहका ८० जनाको निधन भएको छ । त्यस्तै ६० देखि ८० वर्षसम्मका ६६ जना र २० देखि ४० वर्षसम्मका २० जनाको निधन भएको छ ।

समाजशास्त्री डा. टीकाराम गौतमका अनुसार रोजगारीका लागि घरबाहिर निस्किने, आवश्यक सामग्रीको व्यवस्थापनमा जुट्ने, जमघट भएर कुराकानी गर्ने तथा साथीभाइ भेट्ने गतिविधिमा युवाहरू धेरै सक्रिय छन्, त्यसैले बढी संक्रमण पनि उनीहरूमै देखिएको हो । ‘सामाजिक व्यवहार र अन्तक्र्रिया बढी गर्ने समूह युवा नै हो । सम्पर्क र सम्बन्ध बढी हुने हुनाले संक्रमित पनि युवा नै बढी भए,’ उनले भने ।

सरुवा रोगविज्ञ तथा कोरोनाको उपचारमा संलग्न डा. अनुप बाँस्तोलाले पनि कामकाजी उमेर समूहका व्यक्तिहरू घरबाहिर निस्कने भएकाले उनीहरूमै संक्रमण बढी देखिएको बताए । ‘काम गर्ने उमेर समूहका व्यक्ति भनेका २१ देखि ५० वर्षभित्रका हुन् ।

विदेशबाट आएका हुन् वा स्वदेशमै रहेका, अधिकांश उनीहरूलाई नै शंकाको घेरामा राखेर कन्ट्याक्ट ट्रेसिङ गरिएको छ । त्यही भएर यो उमेर समूहका संक्रमित पनि स्वाभाविक रूपमा बढी देखिएका हुन्,’ डा. बाँस्तोलाले भने ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार संक्रमण अझै समुदायमा व्यापक भइनसकेका कारण जोखिममा रहेको यो समूह अहिलेसम्म जोगिएको छ ।

त्यस्तै, किशोर र बालबालिकामा पनि तुलनात्मक रूपमा संक्रमण कम देखिएको छ । ११ देखि २० वर्ष उमेर समूहका चार हजार तीन सय २९ र दश वर्षमुनिका एक हजार तीन सय ५७ जनामा संक्रमण देखिएको छ । एक सय ७६ जनाको भने उमेर खुल्न नसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका तथ्यांक अधिकृत कृष्णराज पाण्डेले बताए ।

डा. बाँस्तोलका अनुसार स्कुल–कलेज बन्द भएका कारण बालबालिकामा र घर बाहिर ननिस्कने भएका कारण वृद्धवृद्धामा संक्रमण कम देखिएको हो । ‘अहिले वृद्धवृद्धामा पनि क्रमशः संक्रमण बढी देखिन थालेको छ,’ उनले भने, ‘अब यसबीचमा विद्यालय खोल्यो भने संक्रमण ह्वात्तै बालबालिकातर्फ पनि सर्छ,’ उनले भने ।

बढी जोखिम हुने उमेर समूहमा संक्रमण व्यापक भए मृत्युदर बढ्दै जाने चेतावनी विज्ञहरूको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले रोग प्रतिरोधक क्षमता कम भएका र बुढापाकालाई संक्रमणबाट जोगाउनु अबको मुख्य चुनौती भएको बताए ।

‘कोरोना फाट्टफुट्ट समुदायमा गए पनि यसलाई अहिले ‘लोकल ट्रान्समिसन’ भन्न मिल्दैन । समुदायमा अझै व्यापक भएको छैन,’ उनले भने, ‘रोग प्रतिरोधात्मक क्षमता कम भएका र वृद्धवृद्धामा संक्रमण हुनबाट जोगाउनु भने अब मुख्य चुनौती हो ।’

सामाजिक व्यवहार र अन्तरक्रियामा युवाको सहभागिता धेरै छ, त्यसैले संक्रमित पनि युवा नै बढी देखिए : डा. टीकाराम गौतम, समाजशास्त्री

समाजका हरेक क्षेत्रमा युवा बढी सक्रिय छन् । सामाजिक व्यवहार र अन्तरक्रिया बढी गर्ने समूह पनि युवा नै हो । सम्पर्क र सम्बन्ध बढी हुने हुनाले संक्रमित पनि युवा नै बढी भए । रोजगारीका लागि घरबाहिर निस्किने, आवश्यक सामग्री व्यवस्थापनमा जुट्ने, जमघट भएर कुराकानी गर्ने, साथीभाइ भेट्ने गतिविधिमा युवाहरू धेरै सक्रिय छन् । त्यति मात्र होइन, विदेशमा काम गर्न जाने पनि युवा नै धेरै छन्, उनीहरू फर्कंदा कोरोना भाइरसको संक्रमण पनि सँगै लिएर आएका छन् ।

जुनसुकै ठाउँमा भए पनि युवा धेरै भेटघाट र सम्पर्कमा हुन्छन्, उनीहरूले युवा समूहलाई नै बढी भेट्छन् । त्यसैले पनि संक्रमित हुनेमा युवाहरूको संख्या धेरै भएको हो । बाहिरबाट आएका युवाले पनि युवासँगै सम्पर्क र सम्बन्ध बनाएर अन्तरक्रिया गर्छन् । त्यसमा पनि पुरुष युवा अझ बढी सक्रिय देखिन्छन् । युवा र प्रौढमा बाहिरको गतिशीलताले संक्रमणको जोखिम बढाउँछ । उनीहरूले संक्रिमत हुने बढी सम्भावना भएका ब्यक्ति र समूहसँग अन्तरक्रिया गरेका हुन्छन् ।

अहिले संक्रमितको संख्या हेर्दा युवा समूहभन्दा जति बढी उमेर समूहका छन्, संक्रमित हुनेको संख्या उति कम देखिन्छ । किनभने उनीहरू सामाजिक गतिशीलता र अन्तरक्रियामा कम सहभागी हुन्छन् । घरमै बसिरहने र बाहिरका गतिविधिमा संलग्न हुनु नपर्दा उनीहरूलाई बाहिरबाट सर्ने सम्भावना हुँदैन ।

वृद्धवृद्धा परिवारका सदस्यबाटै बढी जोखिममा हुन्छन् । गतिशीलता, क्रियाशीलता र अन्तरक्रियामा तुलनात्मक रूपमा पुरुष युवा बढी सक्रिय देखिन्छन् । कोरोनाका कारण मृत्यु हुने विषय व्यक्तिको स्वास्थ्य अवस्था, उमेर र क्रोनिक रोगसँग जोडिन्छ । नयाँ पत्रिका दैनिकबाट

 

You may also like

This will close in 0 seconds