काठमाडौं। काठमाडौंको चुच्चेपाटीमा एक व्यक्तिले पत्नी र छोरीलाई स्प्रिट छ्यापेका छन् ।हेटौंडा घर भइ चुच्चेपाटी बस्दै आएका करिब ४४ वर्षीय राजन विष्टले रक्सीको सुरमा ४० वर्षीया पत्नी र करिब २० वर्षीया छोरीलाई गए राति नौ बजे स्प्रिट आक्रमण गरेका हुन् । घटनापछि राजन विष्टलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक हिरा महराले जानकारी दिएका छन् ।
‘विष्ट परिवारमा घरायसी झगडा रहेछ । राति मादक पदार्थ खाएर घर आएपछि बाबुले छोरी र पत्नीलाई एसिड आक्रमण गरे भन्ने खबर आयो,’ प्रहरी निरीक्षक महराले भने, ‘बाबुलाई पक्राउ गरेर अनुसन्धान गर्दा एसिड नभएर हात धुन प्रयोग गरिने स्प्रिट छ्यापेको पाइयो ।’
स्प्रिट आक्रमणबाट आमा र छोरीलाई कुनै असर भने नगरेको उनले बताएका छन् । ‘राति नै उनीहरुलाई उपचारका लागि तिलगंगा अस्पताल लगिएको थियो, दुबै जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।’