दार्चुलामा पहिरोले पुर्दा दुई जना बेपत्ता, चार जना घाइते

Shares

दार्चुला। दार्चुलाको नौगाड गाउँपालिका–६, परिगाउँमा आइतबार राति गएको पहिरोमा परी दुई जना वेपत्ता भएका छन् ।पहिरोमा परी ३५ वर्षीया मानमती ठगुन्ना र उनकी छोरी ६ वर्षीया आरती ठगुन्ना बेपत्ता भएको स्थानीय फागुनसिंह ठगुन्नाले जानकारी दिएका छन् । उनीहरुको खोजी भइरहेको छ । पहिरोमा परी चार जना घाइते भएका छन् । पहिरोमा परेका चार जनालाई घाइते अवस्थामा गाउँलेले तत्काल उद्धार गरेको उनले बताए । पहिरोले एउटा विद्यालय भवन र चार घर बगाएको जनाएका छन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार प्रहरी घटनास्थलतर्फ गइरहेको छ । जिल्लाका विभिन्न ठाउमा अत्यधिक वर्षासँगै बाढी र पहिरोबाट क्षति पुगेको जनाइएको छ ।

त्यस्तै महाकाली नगरपालिका–५ धौलीगाड खोलामा बाढी आउँदा महाकाली राजमार्ग अवरुद्ध भएको छ । महाकाली नगरपालिका–४ मा लास्कु खोलामा आएको बाढीले क्षति पुर्‍याउँदा दुहु र व्यास जाने बाटो बन्द भएको छ ।

You may also like