तिलोत्तमाको नीति तथा कार्यक्रम स्वास्थ्य, कृषि र रोजगारीमा जोड,१ अर्ब ८९ करोडको बजेट

by समतल अनलाइन
Shares

तिलोत्तमा ।तिलोत्तमा नगरपालिका रूपन्देहीले आर्थिक वर्ष २०७७/०७८ को लागि रु. १ अर्ब ८९ करोड २६ लाख ७२ हजार ५ सय ६४ को बजेट सार्वजनिक गरेको छ । बजेटमा सामाजिक सुरक्षाको २५ करोड बाहेक चालुतर्फ ५२ करोड १ लाख अर्थात् ३१।६७ प्रतिशत र पूँजीगत तर्फ १ अर्ब १२ करोड २५ लाख अर्थात् ६८।३३ प्रतिशत रकम खर्च प्रस्ताव गरिएको छ। आर्थिक वर्षको तुलनामा तिलोत्तमाले आगामी आर्थिक वर्षको बजेटको दायरा ३५ करोडले बढाएको हो।

नगरपालिकाले बजेटमा आम्दानीका स्रोतको रुपमा आन्तरिक राजस्व ५७ करोड ९२ लाख, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब २३ करोड ३४ लाख, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट ३ करोड, गत वर्षको मौज्दातबाट १ करोड, लागतसहभागितामार्फत् ४ करोड प्राप्त हुने लक्ष्य निर्धारण गरेको छ ।आर्थिक बर्ष २०७७/७८को बजेट प्रस्तुत गर्दै उप–प्रमुख जगेश्वरदेवी चौधरीले क्रमागत आयोजनाको समयमा नै निर्माण पूरा गर्ने, लगानीको वातावरण सिर्जना गर्ने, कृषि, स्वास्थ्य, शिक्षामा लगानी बढाइ नगरबासीमा परिवर्तनको अनुभूति गराउने विषयलाई बजेटमा प्राथमिकता दिइएको जानकारी नगरसभालाई गराउनुभएको थियो ।

बजेटमा शिक्षामा ३५ करोड ६८ लाख, स्वास्थ्यमा १३ करोड ६० लाख, कृषि, पशुपालन र सिँचाईमा ९ करोड ७६ लाख विनियोजन गरिएको छ । उद्योग तथा वाणिज्य क्षेत्रको लागि ६ करोड ७५ लाख, भवन, शहरी विकास र पूर्वाधारको लागि ४४ करोड ५८ लाख, युवा साझेदारी कार्यक्रम तथा खेलकुद मैदान पूर्वाधारको लागि २ करोड २२ लाख, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको लागि २ करोड २२ लाख विनियोजन गरिएको छ ।नगर उपप्रमुख चौधरीले गत जेठ २३ गते नगर प्रमुख वासुदेव घिमिरेले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७र७८ को वार्षिक नीति तथा कार्यक्रमको आधारमा बजेट सार्वजनिक गर्नुभएको थियो ।

बजेटमा जग्गा चक्लाबन्दी गरी खेती गर्नेलाई अनुदान दिन ८० लाख, शीत भण्डार एवं कृषि उपज संकलन तथा प्रशोधन केन्द्र निर्माणको लागि १ करोड, सामुदायिक विद्यालयको भवन तथा अन्य पूर्वाधार निर्माणको लागि १ करोड, कोभिड–१९ रोग नियन्त्रणको लागि ५० लाख,नगरपालिका भित्रका वडा नं. १, ४, ५, ८, १०, ११ का वडा कार्यालय भवन निर्माण क्रमागतको लागि ३ करोड ७० लाख, एकीकृत सरसफाई केन्द्र निर्माणको लागि ५० लाख बजेट,

शंकरपुर पश्चिम प्रशासनिक भवनसम्मको सडक कालोपत्रे गर्नको लागि ३ करोड बजेट बिनियोजन गरिएको छ त्यस्तै बिस्तृत परियोजना प्रतिबेदन तयार भइसकेको तिलोत्तमा नगरपालिका वडा नं.१३ र १४ मा प्रस्ताबित प्रादेशिक बसपार्क निर्माणको कार्य अघि बढाउनको लागि ८० लाख बजेट छुट्याइएको छ।भने गत बर्षदेखि निर्माणाधीन अबस्थामा रहेको तिलोत्तमाको प्रशासनिक भवनको निर्माण कार्य चलिरहेको र यसैबर्षदेखि सञ्चालन ल्याउनेगरी अघि बढी रहेको र त्यसको लागि ४ करोड ५० लाख बजेट विनियोजन गरिएको जनाइएको छ ।

कोभिड—१९ ले आर्थिक, सामाजिक तथा स्वास्थ्य क्षेत्रमा पारेको प्रभावलाई प्राथमिकतामा राखेर उक्त संकटबाट सिर्जित समस्यालाई हल गर्नका लागि अनावश्यक खर्च कटौती गरी स्थानीय स्तरमैं रोजगारीका अवसर सिर्जना गर्नु, सरकारी स्वास्थ्य संस्थाहरूलाई सुदृढ बनाउनु, कृषि उत्पादनमा जोड दिएर नगरबासीहरूलाई आत्मनिर्भर बनाउन अहिलेको अपरिहार्य आवश्यकतालाई नीति तथा कार्यक्रमले उच्च प्राथमिकताकासाथ सम्बोधन गरेकोले बजेटमा भौतिक पूर्वाधार तर्फका नयाँ कार्यक्रम समावेश गर्न नसकिएको र गत वर्षभन्दा यसवर्ष कोरोनाको कारण रोकिएको र गुमेको रोजगारी प्रवर्द्धन गर्ने र खाद्य सुरक्षा ग्यारेन्टी गर्ने स्वास्थ्य तथा रोजगार क्षेत्रमा धेरै बजेट केन्द्रीत गर्ने गरी बजेट विनियोजन गरेको समेत उप–प्रमुख चौधरीले बताउनुभयो।बुधबारको सातौं नगरसभा बैठकबाट उप–प्रमुख चौधरीले प्रस्तुत गरेको आर्थिक र विनियोजन विधयेक पारित भएको छ ।

You may also like

This will close in 0 seconds