चिनियाँ कम्युनिष्ट पार्टी ९९ वर्षमा : चीनका नेताहरुसँग भिडियोमा छलफल गर्दै नेकपा नेता

Shares

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी ९९ वर्ष पुगेको अवसरमा सत्तारुढ नेकपा र चीनका सय बढी नेताबीच आज (शुक्रबार) भिडियो छलफल हुने भएको छ ।

नेकपा स्कुल विभागका उपप्रमुख बेदुराम भुसालले चिनियाँ पक्षको चाहनाअनुसार नै यस्तो अन्तरक्रिया राखिएको जानकारी दिएका छन् ।

‘चिनियाँ कम्युनिष्ट पार्टी ९९ वर्ष पुगेको अवसरमा चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग र नेकपाको स्कुल विभागले संयुक्त रुपमा यो भर्चुअल मिटिङ रािखएको हो’, भुसालले भने, ‘चिनियाँ पक्षबाट नै शुभकामना आदान प्रदान गरौं भनेपछि यो अन्तरक्रिया राखेका हौं, शुरुमा अध्यक्ष प्रचण्डले जुमबाट चिनियाँ कम्युनिष्ट पार्टीलाई ९९ वर्ष पूरा गरेकोमा शुभकामना दिनु हुनेछ ।’

भारतले नेपाली कम्युनिष्ट नेताहरू चीनबाट बढी प्रभावित रहेको आरोप लगाइरहेका बेला सत्तारुढ नेकपाका नेताहरू यसरी अन्तरक्रियामा जुटन लागेको यो दोस्रो पटक हो ।

करिब आठ महिनाअघि चीनका राष्ट्रपति तथा कम्युनिष्ट पार्टीका महासचिव सी चिनफिङको नेपाल भ्रमणअघि पहिलो पटक काठमाडौंमा यस्तो अन्तरक्रिया भएको थियो ।

त्यही बेला नेकपा र चिकपाको विदेश विभागबीच आदानप्रदान र अन्तरक्रियाका योजनाहरू समेटिएको ६ बुँदे सम्झौता पनि भएको थियो । सम्झौता अनुसार यो वर्ष नेकपाका सबै ४५ सय केन्द्रीय सदस्यहरूलाई चीन भ्रमण गराउने योजना थियो, जुन कोरोना महामारकिा कारण सम्भव भएन ।

भुसालका अनुसार कोरोना महामारीले निम्त्याएको संकटका कारण आज शुक्रबारको अन्तरक्रिया भिडियोमा हुँदैछ । जसमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पार्टी स्कुल विभाग प्रमुख तथा रक्षामन्त्री ईश्वर पोखरेललगायत नेपालबाट सय बढी सहभागी हुँदैछन् ।

भुसाल लगायतका केही नेताहरू काठमाडौं धुम्बाराहीस्थित पार्टी कार्यालय र सातै प्रदेशमा रहेका नेताहरू जुमबाटै अन्तरक्रियामा जोडिने जनाइएको छ ।

आजको अन्तरक्रियामा कोभिड –१९ को लडाइँमा चीनको अनुभव, सुशासन र भ्रष्टचार नियन्त्रणका अनुभव आदानप्रदान हुनेछ । ‘चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका पदाधिकारी सहित छलफल हुनेछ, उनीहरुले अहिलेसम्मको पार्टी सञ्चालन प्रक्रियाबारे जानकारी दिनेछन्’, भुसालले थपे ।

चिनियाँ पक्षबाट पार्टी अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओ लगायतका नेताहरू सहभागी हुनेछन् । अन्तरक्रिया करिब २ बजे शुरु हुने जनाइएको छ । यस्तो कार्यक्रम चीनको विदेश विभागले गरे पनि नेपालमा भने विदेश विभागलाई जानकारी नदिई स्कुल विभागले गरेको भनेर असन्तुष्टि पनि बाहिरिएको छ ।

You may also like

This will close in 0 seconds