भैरहवामा सुरु भयो कोरोना परिक्षण

by समतल अनलाइन
Shares

सिमा पारी कोरोना संक्रमण देखिएपछि रुपन्देहीमा उच्च सतर्कता

बुटवल। रुपन्देहीको ओमसतिया गाउँपालिकामा रहेको गहुँबाली केन्द्र परिसरमा प्रदेश स्तरिय प्रयोगशालाको निर्माण कार्य सकिएको छ । निर्माणकार्य सकिएलगत्तै प्रयोगशालामा आज आइतबार पहिलो कोरोना परिक्षण सफल भएको प्रदेश ५ का जनस्वास्थ्य प्रयोेगशालाका निमित्त प्रमुख डा. राजेन्द्र कुमार गिरीले जानकारी दिए ।

विहिबारदेखि नै भवनलाई आन्तरिकरुपमा प्रयोगशालाको ढाँचामा बदल्ने काम भईरहेको थियो । विज्ञ सहितको प्राविधिक टोलीले शनिबार र आइतबार प्रयोगशालाका उपकरण सबै जडान गरिसकेका थिए । आइतबार साँझदेखि कोरोना परिक्षण सुरु भईसकेको निमित्त प्रमुख डा. गिरीले बताए ।

‘प्रयोगशालामा जडित उपकरणहरुको डिसईफेक्ट गरि स्ट्याण्डर टेस्ट गरेर परिक्षण सुरु गरेका हौं ।’ डा. गिरीले भने ।

उनका अनुसार कोरोना मात्रै लक्षीत नभई दिर्घकालसम्म अन्य संक्रमण तथा रोगहरुको परिक्षणलाई समेत लक्षीत गरेर प्रयोगशाला निर्माण गरिएको हो ।

ल्याबको गुणस्तर तथा मापदण्ड परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले विष्णु रायमाझीलाई तोकेको छ भने प्रदेश जनस्वास्थ्यले प्रयोगशाला सञ्चालनका लागि लुम्बिनी प्रादेशिक अस्पतालबाट थप दुई जनालाई तोकेको छ ।

प्रयोगशाला सञ्चालनमा आएपछि एकै पटकमा १६ वटासम्म नमूना परिक्षण गर्न सकिने छ । यसअघि बुटवलबाट कोरोनाका सम्भावित तथा शंकास्पद बिरामीको नमूना संकलन गरी परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौं पठाइँदै आएको थियो । जसले गर्दा परिक्षण दर निकै न्यून रहेको छ । हालसम्म प्रदेश ५ बाट ७५ वटा मात्रै नमूना परिक्षण गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा छ ।

भैरहवापछि प्रदेश सरकार दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जको भेरी अस्पतालमासमेत प्रयोगशाला स्थापना गरी कोरोना भाइरसको परीक्षण शुरु गर्ने तयारीमा छ ।
हालभने संघीय सरकारले पठाएको पीसीआर मेशिनबाट कोरोना परिक्षण हुने छ । तर, बढी क्षमता भएको आरटीपीसीआर मेशिन ल्याउने तरखर समेत रहेको डा. गिरीले बताए ।

यसैबिच मुख्यमन्त्री शंकर पोखरेलले आइतबार दिउँसो प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निरीक्षण गर्दै प्रगति विवरण बारे जानकारी लिएका छन् ।

उनलाई सामाजिक विकास मन्त्री सुदर्शन बराल, मन्त्रालयका सचिव गोपीकृष्ण खनाल र प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्रकुमार गिरीले प्रयोगशालाकोे कार्यप्रगतिबारेमा जानकारी दिएका थिए । निरिक्षण पछि मुख्यमन्त्रीले प्रयोगशालालाई छिटो सञ्चालन गरी कोरोना भाइरसको परीक्षण गर्न निर्देशन दिएका थिए ।

सिमा पारी कोरोना देखिएपछि रुपन्देहीमा उच्च सतर्कता

रुपन्देहीको सुदुर दक्षिणमा रहेको मर्चवार क्षेत्रदेखि ५ किलोमिटर दक्षिणमा रहेको पुरन्दरपुरमा कोरोना संक्रमित फेला परेपछि रुपन्देहीका सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।
शनिबार भारतिय सञ्चारमाध्ययमहरुले रुपन्देहीको बेलहियादेखि २५ किलोमिटर र मर्चवार क्षेत्रदेखि ५ किलोमिटरको दूरीमा रहेको कोल्हुई र पुरन्दपुर क्षेत्रको चार गाउँमा ६ जना संक्रमित फेला परेको जनाएका थिए ।

मर्चवार क्षेत्रमा रहेका स्थानियहरुको व्यापारिक केन्द्र कोल्हुई हो भने कोल्हुईबाट बिहान बिहान मर्चवारका साना नाकाहुदैं तरकारी व्यापारीहरु नेपाल छिर्छन् । रुपन्देहीको मर्चवार क्षेत्रको मर्चवारी गाउँपालिका अन्तर्गतको चन्नी, खैरा, समरीमाई गाउँपालिकाको ठोठरी नाका र कोटहीमाई गाउँपालिकाको कदमहवा नाकाबाट सिमा पारीबाट तरकारी लिएर नेपाल प्रवेश गरिरहेका हुन्छन् । उक्त तरकारी भैरहवा, बुटवल, लुम्बिनीसम्मको टोल टोलमा बेचिने गर्दछ ।

सिमा पारी संक्रमित भेटिएपछि रुपन्देही क्षेत्र उच्च जोखिममा परेको जनाउदैं आवतजावत रोक्न उच्च सतर्कता अपनाईएको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जनाए ।

प्रशासनले यसअघि धेरै चहलपहल हुने पाँचवटा नाका बन्द गरिसकेको छ । तर, सिमा जोडिएका रोहिणी, कोटहीमाई, मर्चवारी, लुम्बिनी साँस्कृतिकलगायतका स्थानिय निकायका साना सिमा नाकाहरुमा निर्वाध रुपमा आवागमन भईरहेको थियो । प्रशासनले यी नाकाहरु पनि सिल गरेर निगरानी बढाएको छ ।

रुपन्देहीको दक्षिणी छिमेकसँगको सीमा क्षेत्रमा ५२ स्थानमा स्थायी रुपमा सशस्त्र प्रहरी राखिएको छ । जनपद प्रहरीले पनि जिल्लाको अन्य भेगसँगै सीमावर्ती क्षेत्रमा निगरानी गरिरहेको छ । सीमावर्ती क्षेत्रमा रहेका प्रहरी चौकीहरुले पनि निगरानी बढाएका छन् । भारतबाट रुपन्देही छिर्न मिल्ने सम्पूर्ण साना ठूला नाका तथा स–साना चोर बाटोहरुमा सक्दो जनशक्ति खटाएर निगरानी भइरहेको सशस्त्र प्रहरी बल रुपन्देहीका प्रमुख एसपी तेज पोखरेलले बताए ।

 

You may also like

This will close in 0 seconds